लेटाङ । लेटाङ नगरपालिका स्थित शिक्षा बिकास माबिमा शिक्षक द्वारा छात्रालाई दुव्र्यवहार गरेको घट्नाले उग्र रुप लिदा भएको हिंसात्मक घट्ना बाट सिर्जित अवस्थालाई सामान्य अवस्थामा ल्याउन भनी सर्बदलिय बैठक बसेको छ । आज लेटाङ नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको अध्यक्षतामा भएको बैठकले ४ बुदेँ निर्णय गरेको हो ।
मिति २०७८।१२।०६ गते आइतबारका दिन श्री शिक्षा विकास मा.वि. लेटाङ-५ खेरुवामा सोही विद्यालयका शिक्षकले चैत्र ४ गते फागु पूर्णिमाका दिन एक छात्राको घरमै गई यौन दुर्व्यवहार गरेको आरोपमा भएको घटना व्यवस्थापन गर्ने क्रममा शान्ति सुरक्षा दिने कार्यमा खटिएको अवस्थामा जीवन गुमाउनु हुने प्रहरी जवान उर्मिला श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने तथा उक्त घटनामा घाइते भएकाहरुको उपचार, भौतिक संरचना पुर्निर्माणका लागि प्रदेश सरकार संघीय सरकार समक्ष अनुरोध गर्ने, पीडित पक्षलाई न्यायका लागि सबै पक्षले सहयोग गर्ने र घटनामा दोषी तथा अपराधमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कानून बमोजिमको कारबाहीका लागि प्रशासनलाई आवश्यक सहयोग गर्ने भएको हो ।
मिति २०७८।१२।०७ गते बिहान ७ बजेदेखि लेटाङ नगरपालिकाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेशलाई थप निरन्तरता दिँदा जनजीवनमा पर्न जाने असहजतालाई ध्यानमा राखी कर्फ्यू आदेश सहजताका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गर्ने र विद्यालयको पठनपाठन पूर्ववत रुपमा सञ्चालन गर्न सबैले आवश्यक समन्वय र सहयोग समेत गर्ने भएको हो ।
लेटाङ नगरपालिका वडा नं. ८ को जाँते मा.वि. मा अध्ययनरत छात्रा करुणा राईको बलत्कार पछि हत्या भएको र उक्त कुरा दोषीले स्वीकार गरी कानूनी कारबाहीको प्रक्रियामा रहेकोले मृतक छात्राको परिवारलाई आवश्यक राहतका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
लेटाङ नगरपालिका भौगोलिक रुपमा विकट र विपद् जोखिम क्षेत्रमा पर्ने भएकोले शान्ति सुरक्षा र उद्गार कार्य व्यवस्थित गर्न यस नगरमा रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा जनशक्ति कम रहेको र सवारी साधन पूरानो भइसकेकोले पहाडी भूभाग र कच्ची बाटोमा समेत गस्ती तथा सुरक्षाका कार्यहरु गर्न उपयुक्त हुने सवारी साधन व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत नेपाल सरकार गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको हो ।
https://www.youtube.com/watch?v=4H4NrpZu6uA























