उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले स्थानीय तहको निर्वाचन केन्द्रीत गतिबिधि बढाएको छ ।
बैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेपछि उर्लाबारीमा माओवादी केन्द्रले आफ्नो पकड स्थापित गराउन लागि परेको हो । उर्लाबारी वडा नं. ७ को भेलाले वडा उपाध्यक्ष पर्शुराम लुईटेलको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । त्यस्तै, मुस्लिम मुक्ति मोर्चा उर्लाबारी–७ को अध्यक्षमा महमद आलम मियाँलाई चयन गरेको छ । पार्टीकी केन्द्रीय सदस्य ममता ताजपुरिया, प्रदेश सदस्य तथा नगर इन्चार्ज तारिलाल धिमाल (प्रवेश), नगरअध्यक्ष गजेन्द्र दंगाललगायतले माओवादी एक्लै पनि चुनाब लड्न तयार रहेकाले सोहीअनुसार तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । एमाले र कांग्रेसले उर्लाबारी नगरपालिकाको नेतृत्व गरेको भएपनि जन अपेक्षाअनुसार काम हुन नसकेको प्रष्ट पार्दै अब माओवादीका उम्मेद्वारहरुलाई जिताउन जनताको घरदैलोमा पुग्न आवश्यक रहेको उहाँहरुको भनाई छ । माओवादीले आफ्नो कमीकमजोरी सुधार गर्दै जनताको घरदैलोमा पुग्न सकेको खण्डमा यस पटकको निर्वाचनमा सुखद नतिजा आउने उहाँहरुको विश्वास छ । त्यस्तै, आजै वडा नं. ४ मा पनि वडाको बैठक भएको छ । वडा नं. ४ ब्यापक रुपमा निर्वाचनको तयारी गर्ने बैठकले निर्णय गरेको छ ।























