उर्लाबारी । नेकपा माओवादी उर्लाबारीले मेयर, उपमेयरसहित ९ वटै वडामा वडाध्यक्ष तथा सदस्यहरुमा उम्मेद्वारी दिने तयारी गरेको छ ।
वडामा परिचित अनुहारहरुलाई यस पटक माओवादीले उम्मेद्वार बनाउने तयारी थालेको हो । २०७४ सालको निर्वाचनमा उर्लाबारीको कुनै पनि वडामा विजयी हासिल गर्न नसकेको माओवादीले यस पटकको निर्वाचनमा सुखद नतिजा ल्याउने अपेक्षाका साथ निर्वाचनमा होमिएको छ । प्रत्येक वडामा टोल भेला, बैठकलगायतका कार्यक्रमहरु भइरहेको प्रचारप्रसार कमिटीका संयोजक सरोज बस्नेतले जानकारी दिनुभयो । विगतका कमीकमजोरीलाई सच्याउँदै वडा वडामा माओवादीको पक्षमा जनलहर तयार पार्न वडा कमिटी, नगर कमिटी सक्रियपूर्वक लागेको छ ।
सबै उम्मेद्वारहरुको लगभग टुंगो लागेपनि गठबन्धनको कुराले उम्मेद्वार सार्वजनिक नगरेको माओवादी स्रोतले जनाएको छ । पार्टी केन्द्र तहमै गठबन्धन गर्ने विषय चलिरहेकाले उम्मेद्वार घोषणा नभएको र एक्लै पनि माओवादी चुनाब लड्न तयार रहेको नगर अध्यक्ष गजेन्द्र दंगालले जानकारी दिनुभयो । ‘हारजित स्वभाविक हो’उहाँले भन्नुभयो–‘२०७४ सालको निर्वाचनभन्दा राम्रो नतिजा ल्याउने गरी हामी खटिरहेका छौं ।’























