उर्लाबारी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले माओवादी एक्लै पनि चुनाब लड्न तयार रहेको बताउनुभएको छ ।
आज मोरङको उर्लाबारी–४ को विशाल टोल भेलालाई सम्बोधन गर्दै मोरङ क्षेत्र नं. १ का प्रदेश सांसदसमेत रहनु भएका लिम्बूले सो कुरा बताउनुभएको हो । गठबन्धन हुन्छ वा हुँदैन भन्ने विषय महत्वपूर्ण कुरा नभएको बताउँदै माओवादी एक्लै भएपनि चुनाबमा प्रतिष्पर्धा गर्न तयार रहेको उहाँले बताउनुभयो । पार्टीको योजना र विचारबाट मुलुक चलिरहेको उल्लेख गर्दै निर्वाचनमा हारजित स्वभाविक प्रक्रिया भएपनि जित्ने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । जनताका आशा र अपेक्षालाई माओवादीका नेता कार्यकर्ताहरु मात्रै पूरा गर्न सक्ने उहाँको भनाई छ । अब पार्टीले नभई जनताले छानेर पठाएका प्रतिनिधिहरुलाई माओवादीले उम्मेद्वार बनाउने उहाँले बताउनुभयो । राजनीति स्वार्थभन्दा माथी उठेर जनताको हितमा सोच्न पनि उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पार्टीभित्रका कमीकमजोरी सच्याएर जनताको हितमा काम गर्न आवश्यक रहेको बताउँदै कसैले दम्भ देखाएको भरमा चुनाब जित्न नसक्ने उहाँले ठोकुवा गर्नुभयो । ‘कुनै पार्टीले सजिलै चुनाब जित्छु भन्ने दम्भ राखेको छ भने त्यो भ्रम मात्र हो’ उहाँले भन्नुभयो–‘जनता सचेत भइसक्नुभएको छ, अब काम गर्नेलाई मात्रै जिताउनुहुन्छ ।’ कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य ममता राजवंशी, प्रदेश सदस्य तारिलाल धिमाल प्रवेश, मिक्लाजुङ अध्यक्ष उमेश राईलगायतले बोल्दै अब सशक्त रुपमा निर्वाचनमा सबै जना जुट्ने पर्नेमा जोड दिनुभयो । विशाल टोलमा नन्द मगरको नेतृत्वमा ४७ जनाको टोल कमिटी गठन भएको वडा अध्यक्ष मिलन दाहालले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन वडा सचिब शान्तिराम अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय