विराटनगर । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लक्समलाई नियुक्त गरेको छ । शेरधन राईको पालामा नियुक्त सुबोध प्याकुरेल मुख्यमन्त्री राईसँगै पदमुक्त भएपछि सो पद रिक्त थियो । सरकारले त्यसबेला सदस्य रहेका पाँचथरका डा.लक्समलाई उपाध्यक्ष नियुक्त गरेको हो ।

सोमबारको मन्त्रीपरिषद बैठकले आयोगका सदस्यहरु पनि नियुक्त गरेको छ । सदस्यहरुमा डा. ज्ञानेन्द्रबहादुर कार्की संखुवासभा, नारायण कोइराला सुनसरी, प्रकाश राई भोजपुर र अन्जु खड्का मोरङलाई नियुक्त गरेको छ ।

प्रदेश १ सरकारले प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष बाबा मेयाङ्बो र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतलाई बर्खास्त गरेको छ । सरकारलाई असहयोग गरेको, खेलकुद क्षेत्रमा कुनै काम नगरेको भन्दै उनीहरुलाई हटाएको हो ।

सोमबारको मन्त्रीपरिषद बैठकले मेयाङ्बो र बस्नेतलाई पदमुक्त गरेको हो । उनीहरुलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले गएको असोज २४ गते प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष , सदस्यसचिव र सदस्यहरु नियुक्त गरेका थिए । प्रदेश खेलकुद ऐन अनुसार बोर्ड पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ ।

एमाले कोटामा नियुक्त उनीहरुलाई सरकारले ६ महिनामै हटाएको हो । राजेन्द्र राई मुख्यमन्त्री बनेर नयाँ मन्त्रीपरिषद बनेपछि सामाजिक विकास मन्त्री राजन राईले माघ अन्तिममा मेयाङ्बो र बस्नेतलाई तीन दिने स्पष्टीकरण सोधेका थिए ।

उनीहरुको स्पष्टीकरण चित्तबुझ्दो नभएको सरकारले बताउँदै आएको थियो । नयाँ सरकार बनेलगत्तैदेखि उपाध्यक्ष र सदस्यसचिव भूमिकाविहीन पारिएका थिए । सरकारले बोर्डको बजेट रोक्का गरिदिएको छ ।

पर्शुराम बस्नेतको सदस्यससचिव बन्ने योग्यता नपुग्ने भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो । प्रदेश खेलकुद बोर्डको सदस्य सचिव बन्न कम्तीमा १० वर्ष खेलकुद क्षेत्रमा योगदान दिएको र असल चालचलन भएको हुनुपर्ने कानुनी प्रावधान छ ।

बस्नेत विगतमा विवादास्पद गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ । उनीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा सम्पत्ति शुद्धिकरण विभागले मुद्दा दायर गरेको थियो । तर, उनले सो मुद्दामा सफाइ पाइसकेका छन् ।
प्रदेश सरकारले उनीहरुलाई बर्खास्त गरे पनि नयाँ पदाधिकारी नियुक्त भने गरेको छैन ।

सरकारले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशक पदमा विष्णुकुमार कार्कीलाई नियुक्त गरेको छ । उनी अवकाश प्राप्त सरकारी कर्मचारी हुन् । सरकारले यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेलाई सरकारको प्रवक्ता तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय