पुजन दास
उर्लाबारी । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि चुनाबी सरगर्मी बढेको छ । उम्मेद्वारी घोषणा गर्नेदेखि टिकटका लागि लबिङ गर्ने काम भइरहेका छन् ।
यसैक्रममा मोरङको उर्लाबारीमा पनि स्थानीय तहको निर्वाचनको रन्को लाग्न थालेको छ । उर्लाबारी नगरपालिकाको दोस्रो मेयर को बन्ला भन्ने विषय निकै चासोको साथ हेरिएको छ । नेपाली कांग्रेसबाट आधा दर्जन बढी मेयरका आकांक्षी भएपनि वर्तमान मेयर खड्ग फागो उम्मेद्वार बनेको खण्डमा पार्टीभित्रबाट सर्वसम्मत उम्मेद्वार बन्ने निश्चित छ । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्रीसमेत रहनु भएका फागो प्रदेश वा संघीय सांसदको उम्मेद्वार बनेको खण्डमा यहाँ आधा दर्जन आकांक्षीबीच हानथाप हुने देखिएको छ । फागोको कांग्रेसभित्र राम्रो पकड मानिन्छ । कांग्रेसबाट फागो नै पुनः मेयरको उम्मेद्वार बन्ने सम्भावना धेरै देखिएको छ । कांग्रेसबाटै मेयरको दाबेदारमा चिन्तामणी पौडेल, जयधर्म आचार्य, भानुभक्त पराजुली, सुरेन्द्र लिम्बू, सीता कार्की, शोभा चेम्जोङ पालुङ्वालगायतको नाम चर्चामा छ । मेयरमा फागो उम्मेद्वार नबनेको खण्डमा उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा कांग्रेस जिल्ला सदस्य चिन्तामणी पौडेलको सम्भावना बढी देखिएको छ । ‘वर्तमान मेयर फागोले फेरि एक पटक दोहो¥याउन चाहेको खण्डमा उहाँ नै सर्वसम्मत मेयरको उम्मेद्वार हो’ एक कार्यकर्ता भन्छन् ।
यता एमालेबाट वर्तमान उपमेयर लक्ष्मीदेवी भण्डारी नै मेयरको उम्मेद्वार बन्ने प्रवल सम्भावना देखिएको छ । उपमेयर भण्डारीसहित एमालेबाट यसअघि मेयर पदमा पराजित भुपाल जिमी, गंगा खरेल, एमाले जिल्ला सचिब रुपेश खतिवडालगायतको आकांक्षा देखिएको छ । भण्डारी नै एमालेको बलियो मेयरको उम्मेद्वार बन्ने एमाले बृत्तमा चर्चा छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्र उर्लाबारीको मेयरमा तारिलाल धिमाल (प्रवेश), गजेन्द्र दंगाललगायतको नाम चर्चामा छ भने नेकपा एकीकृत समाजवादीबाट मानबहादुर श्रेष्ठको नाम अघि सारिएको छ । त्यस्तै, राप्रपाले भूपाल थापालाई मेयरको उम्मेद्वारमा अघि सार्ने सम्भावना छ ।
उर्लाबारीमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनाबी गठबन्धन भएको खण्डमा एमाले नराम्रोसँग पराजित बन्ने देखिएको छ । वर्तमान मेयर फागोले २०७४ सालको निर्वाचनमा एमालेका भूपाल जिमीलाई ३ हजार ९० मत अन्तरले पछि पार्नुभएको थियो । फागोले ११ हजार ६३२ मत प्राप्त गर्नुभएको थियो । फागोले निकटतम् प्रतिस्पर्धी भुपालसिंह जिमीले ८ हजार ५४२ मत ल्याउनुभएको थियो । गठबन्धन हुँदा फागोको मत थप बढ्ने निश्चित छ । त्यसैकारण पनि उर्लाबारीको मेयरमा फागोकै पल्लाभारी देखिएको छ ।























