उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आफुविरुद्ध एमालेले गलत प्रचारबाजी थालेको आरोप लगाउनुभएको छ ।
बुधबार उर्लाबारी पार्टी प्यालेसमा तरुण दल र नेविसंघ नगर तदर्थ समिति गठन कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका फागोले सो आरोप लगाउनुभएको हो । आफुविरुद्ध भ्रम सिर्जना गर्नेहरु आफैं सिद्धिएर जाने उहाँले बताउनुभयो । आफ्नोविरुद्ध भ्रम सिर्जना गर्नका लागि १२ लाख रुपैयाँ छुट्याएर सामाजिक सञ्जालमा तथानाम लेख्नेहरु परिचालन गरेको उहाँले दाबी गर्नुभयो । जनहितमा ल्याएका योजना र कार्यविधि रोक्ने काम एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेको उहाँको भनाई छ । एमालेका बहुमत कार्यपालिका सदस्यहरुको दम्भले गर्दा जनअपेक्षाका काम अघि बढाउन नसकेको उहाँले बताउनुभयो । अब हुने स्थानीय तहको निर्वाचनमा जनहितमा काम गर्न सक्ने उम्मेद्वारहरुलाई मात्रै जिताउन उहाँले उर्लाबारीबासीमा अपिल गर्नुभयो । उहाँले दुखमा परेको जोकोहीको पनि सारथी भएर काम गर्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । ‘एमाले जस्तो कुण्ठित भएर नसोच्नुहोस्, जनताको दुखको सारथी बन्नुहोस्’ उहाँले भन्नुभयो–‘कांग्रेसले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ ।’
उहाँले उर्लाबारीमा गठबन्धन भएर अघि बढ्ने पनि बताउनुभयो । कांग्रेसले २०७४ सालमा जितेका बाहेकका वडामा गठबन्धन गरेर जाने उहाँको भनाई छ ।























