उर्लाबारी । नेपाली कांग्रेसबाट उर्लाबारी नगरपालिकाको मेयरमा फेरि खड्ग फागो नै उम्मेद्वार बन्ने देखिएको छ ।
कांग्रेसभित्र आधा दर्जन आकांक्षी देखिएपनि फागो उम्मेद्वार नबनेको खण्डमा मात्रै हो । जानकार स्रोतका अनुसार वर्तमान मेयर फागो पुनः एक पटक उर्लाबारी नगरपालिकाको मेयरमा उम्मेद्वार बन्ने प्रवल सम्भावना छ । नेपाली कांग्रेस प्रदेश नं. १ को सह–महामन्त्रीसमेत रहनु भएका फागो लोकप्रिय नेता मानिनुहुन्छ । युवा नेता फागोलाई पार्टीका सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाले संघीय सांसदमा उठ्न जोड दिइरहनु भएको बुझिएको छ । यता अधिकांश पार्टीका कार्यकर्ताहरुले भने फेरि एक पटक उर्लाबारीको नेतृत्वमा रहेर काम गर्न सुझाव दिएका छन् । फागोलाई तपाई मेयरको उम्मेद्वार बन्नुहुन्छ भन्ने प्रश्नमा कार्यकर्ता र उर्लाबारीबासीको जनभावनाअनुसार अघि बढ्ने बताउनुभएको छ । फागो नै मेयरको पुनः उम्मेद्वार बन्ने पक्कापक्की रहेको एक कार्यकर्ताको भनाई छ । कांग्रेसको नेतृत्वमा गठबन्धनको विषय फाइनल भएपछि फागोको उम्मेद्वारी घोषणा हुने सम्भावना रहेको बुझिएको छ । फागो २०७४ सालको निर्वाचनमा प्रदेश नं. १ मै सर्वाधिक मतान्तरमा विजयी हुनुभएको थियो । यस पटक गठबन्धन गरेर मेयरको उम्मेद्वार बन्दा थप मतान्तर बढ्ने देखिएको छ ।























