विराटनगर । प्रदेश १ को विभिन्न पार्टी र संस्थाहरुमा बसेर दलित आन्दोलनमा सक्रिय अगुवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीमा आवद्ध भई दलित आन्दोलनमा सक्रिय ३५ जना दलित अगुवाहरु सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
सामाजिक कुप्रथा, छुवाछुत र विभेद विरुद्ध लामो समयदेखि आन्दोलन गर्दै आएका दलित समुदायका अगुवाहरुले नेतृत्व गरेको राष्ट्रिय दलित मञ्च माओवादी केन्द्रमा समाहित भएको हो । अरु पार्टींसँग दलितलाई मुक्ति दिलाउने कुनै एजेण्डा बाँकी नभएको र जातीय विभेद र छुवाछुत हटाएर विशेष अधिकार दिलाउने एक मात्र पार्टी माओवादी केन्द्र मात्र भएको भन्दै सोमबार एमाले निकट मुक्ति समाजका झापा उपाध्यक्ष तथा राष्ट्रिय दलित मञ्च केन्द्रीय अध्यक्ष भीमकुमार लकान्द्रीको नेतृत्वमा ३५ जना दलित अगुवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले प्रदेश १ का सल्लाहकार तथा दलित गैरसरकारी सस्था महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गोपाल लकान्द्री, एकीकृत समाजवादी पार्टी मोरङका सल्लाहकार नरेश घतानी र नेपाल दलित संघका केन्द्रीय सदस्य प्रेम लकान्द्रीलगायत छन्् । सोही कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य हर्कराज राई पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सोमबार विराटनगर प्रदेश कार्यालयमा दलित अगुवाहरुलाई माओवादी केन्द्रका प्रदेश १ सहइञ्चार्ज सावित्रीकुमार काफ्ले र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले खादा र अविर लगाएर पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र्रका नेता काफ्लेले नेपालमा प्रतिगमन पक्षधर र अग्रगमन पक्षधरशक्तिबीच तीब्र धु्रवीकरण भइरहेको बताए । उनले नेकपा एमालेले राजामहाराजा पक्षधर शक्तिसँग ध्रुवीकरण गरेर गठबन्धन गरिरहेको र नेकपा माओवादी केन्द्रको नेतृत्वमा कम्युनिष्ट क्रान्तिकारी र समाजवादी शक्तिहरुबीचको अर्को धु्रवीकरण बनिरहेको टिप्पणी गरे ।
संविधानमा उल्लेखित दलित अधिकारसँग सम्बन्धित व्यवस्थाहरु व्यवहारमा लागु गर्न निरन्तर पहल गर्ने लगायतका विभिन्न ९ बुँदे समझदारी गरेर माओवादी केन्द्रमा राष्ट्रिय दलित मञ्च समाहित भएको अध्यक्ष भीमकुमार लकान्द्रीले बताए । अहिले पनि समाजमा विभेदहरु कायमै रहेकोले क्रान्तिकारी कम्युनिष्टको नेतृत्वमा आन्दोलनको जरूरी भएको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी चिनेर काम गर्नुपर्ने विचार व्यक्त गरे ।
उनले भने ‘नक्कली कम्युनिष्टहरुको बिगबिगी छ, कम्युनिष्ट पार्टी चिनेर आन्दोलन गर्दा मात्र सफल भइन्छ, असली कम्युनिष्ट पार्टी चिनेर हामी समाहित भएका छौं र यहीं रहेर आन्दोलन अगाडि बढाउनु पर्छ ।’ नेकपा एमालेबाट दलित, विपन्न वर्ग र श्रमिकहरुको हक प्राप्त हुन सक्दैन भन्ने ठहर आफूहरुले गरेको उनले बताए । अध्यक्ष लकान्द्रीले आगामी वैशाख ३० गते हुने निर्वाचनमा दृढतापूर्वक लाग्नुपर्ने विचार पनि व्यक्त गरे ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य तथा किरात खुम्वान क्षेत्रका इन्चार्ज रहेका हर्कराज राई उक्त पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई पनि नेता काफ्लेले खादा ओडाएर पार्टीमा स्वागत गरेका थिए ।























