पुजन दास
सोमबारे । नेकपा माओवादी केन्द्र रतुवामाई वार्ड नं ६ कमिटीले वडाध्यक्षको उम्मेदवार छनोटका लागि तीन जनाको नाम सिफारिस गरेको छ । बिहीवार बसेको वडा कमिटीको बैठकले नगरसचिव निलम खड्कासहित तीन जनाको नाम सिफारिस गरेको हो ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि वडा कमिटीले नगर सचिव निलम खड्का, वडा कमिटी अध्यक्ष तारामणि चौहान र देबी खत्रीको नाम सिफारिस गरेको हो ।
माओवादी रतुवामाई इन्चार्ज सुमन कालिकोटेका अनुसार वडाबाट आकांक्षी सबैको नाम सिफारिस भए पश्चात नगर कमिटीले उम्मेदवारको टुङ्गो लगाउने छ । नगर कमिटी मार्फत उम्मेदवार टुङ्गो नलागे प्रदेश कमिटी मार्फत उम्मेदवारको टुङ्गो लाग्ने छ । नगर कमिटी र प्रदेश कमिटीले आउदो बैशाख ८ गते अगावै उम्मेदवारको टुङ्गो लगाउने छ ।























