उर्लाबारी । स्थानीय तहको निर्वाचनले राजनीतिक सरगर्मी निकै तातेको छ । यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न केन्द्रदेखि वडा तहसम्मका नेताहरूको दौडधुप निकै बढ्दो छ । तर, उम्मेद्वार छनौटमै सकस भइरहेको छ ।
यसैक्रममा मोरङको उर्लाबारीमा पनि चुनाबी माहोल निकै बढेको छ । नेताहरुले उम्मेद्वार छान्न सकेका छैनन् । नेकपा एमालेले राप्रपा नेपालसहितको गठबन्धन केन्द्रीय तहमा गरेको भएपनि उर्लाबारीमा राप्रपा नेपालको गतिबिधि छैन । यस कारण उर्लाबारीमा एमाले एक्लै चुनाबमा होमिने सम्भावना देखिएको छ । राप्रपालगायत दलसँग पनि उर्लाबारीमा चुनाबी तालमेल गर्न छलफल भइरहेको भएपनि सकारात्मक परिणाम आउन सकेको छैन ।
यता उर्लाबारीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनाबी तालमेल हुने पक्का देखिएको छ । कांग्रेसले जितेको मेयरसहित वडा नं. २, ३, ५, ६ र ७ कांग्रेसको भागमा पर्ने निश्चित छ । त्यसबाहेक एमालेले जितेको उपमेयरसहित वडा नं. १, ४, ८ र ९ मा भागबन्डा हुने देखिएको छ । एमालेले जितेपनि वडा नं. १ का वडाध्यक्ष मचिन्द्र कार्की नेकपा एकीकृत समाजवादीमै रहेकाले पुनः उहाँ नै गठबन्धनबाट उम्मेद्वार बन्ने सम्भावना छ । त्यो हुँदा वडा नं. ४, ८ र ९ रहन्छ । त्यसमा वडा नं. ४ मा माओवादीको मुख्य दाबी छ । उपमेयरसहित वडा नं. ४ लगायतमा माओवादीको दाबी देखिएको छ । २०७४ सालको निर्वाचनमा कुनै वडा नजितेपनि माओवादी तेस्रो दलको रुपमा आफ्नो उपस्थित बनाएको थियो । सो बेला पनि माओवादीले वडा नं. १, २, ४ र ८ नम्बरमा सम्मानजनक मत ल्याएको थियो । त्यो बेला माओवादीको मत हेर्दा वडाध्यक्षमा ३ हजार ३ सय हाराहारी देखिन्छ भने उपमेयरमा २ हजार ४ सय बढी छ । मेयरमा भने १ हजार ९ सय बढी देखिन्छ । त्यतिबेला अहिलेको भन्दा संगठन कमजोर थियो । अहिले सबै वडाहरुमा टोल, सेल कमिटी गठन भइसकेको र चुनाबी गतिबिधि अघि बढिसकेको छ । त्यसकारण पनि उर्लाबारीमा माओवादी निर्णायक अवस्थामा देखिन्छ । १ हजार बढी संगठित सदस्य माओवादीमा छन् ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीमा प्रभावशाली नेता भएपनि कार्यकर्ता भने कम देखिन्छ । उर्लाबारी वडा नं. १, २, ४ र ९ मा भने कार्यकर्ताको राम्रै साथ रहेको बताइन्छ ।
त्यस्तै, जसपाको वडा नं. २ मा मात्रिका धिमालको ब्यक्तिगत प्रभाव रहेपनि अन्य वडामा खास पकड देखिन्न । गठबन्धनभित्र शक्तिशाली कांग्रेस देखिन्छ । विगतमा मेयरसहित ५ वडा जितेपनि बहुमत एमालेको पोल्टामा परेको थियो । त्यसैकारण पनि यो पटक गठबन्धनसहित बहुमत आफ्नो पक्षमा पार्न कांग्रेस लागि परेको छ । २०७४ सालअघि एमालेको लालकिल्ला रहेको उर्लाबारीमा कांग्रेसको चारतारे झण्डा गाँड्ने श्रेय भने उर्लाबारी नगरपालिकाका मेयर तथा कांग्रेसका युवा नेता खड्ग फागोलाई नै जान्छ । उहाँ क्षेत्रीय सभापति बनेपछि उर्लाबारीमा कांग्रेसको दबदबा बनेको देखिन्छ । हाल प्रदेश नं. १ को सह–महामन्त्रीसमेत रहनु भएका फागोकै कारण कांग्रेसप्रति युवाहरुको आकर्षण बढेको स्वम् कार्यकर्ताहरु स्विकार गर्दछन् । सुतेको कांग्रेसलाई चलयमान कांग्रेस फागोले नै बनाएको कार्यकर्ता बताउँछन् । गठबन्धनबाट लगभग मेयरमा पुनः फागो नै उम्मेद्वार बन्ने सम्भावना छ । कांग्रेसमा फागो जतिको लोकप्रिय उम्मेद्वार नभएका कारण पनि उहाँ नै मेयरको उम्मेद्वार बन्ने देखिएको हो । आधिकारिक रुपमा फागोले उम्मेद्वारी बन्ने नबन्ने नबताएपनि यस पटक उहाँ नै उम्मेद्वार बन्ने कांग्रेसका एक नगर सदस्यले जानकारी दिनुभयो । गठबन्धन र स्वम् फागोको प्रभाव रहेकाले सानदार मतका साथ जित्ने दाबी गरिएको छ । गठबन्धनको मत तलमाथी नभएको अवस्थामा विगतको भन्दा फराकिलो मतले जित्ने बताइन्छ । यता एमालेले पनि लोकप्रिय ब्यक्तिलाई मेयरको उम्मेद्वारमा खडा गर्ने कसरत गरिरहेको छ । १० जनाको आकांक्षा देखिएपनि वर्तमान उपमेयर लक्ष्मीदेवी भण्डारी र गंगाप्रसाद खरेलकै पेरिफेरिबाट मेयरको उम्मेद्वार टुंगो लाग्ने देखिन्छ । भण्डारी र खरेलमध्ये खरेलको सम्भावना बढेको भएपनि उम्मेद्वार छनौट नभएसम्म यसै भन्न नसकिने एमालेका नेताहरुले बताउने गरेका छन् । यता राप्रपाले पनि प्रभावशाली ब्यक्तिलाई मेयरमा उठाउने चर्चा चलिरहेको छ । उर्लाबारीकै प्रतिष्ठित र सामाजिक सेवा समर्पित ब्यक्तिलाई उम्मेद्वार बनाउन राप्रपाले कसरत गरिरहेको छ । तर, ती ब्यक्तिको बारेमा केही खुलेको छैन । यो अवस्थामा राप्रपाले पनि राम्रै मत ल्याउने अड्कलबाजी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय