विराटनगर,मोरङका राजनीतिक दलले स्थानीय तह निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदेश १ निर्वाचन कार्यालयले विराटनगरमा आज (आइतबार) आयोजना गरेको स्थानीय तह निर्वाचन–२०७९ सम्बन्धी राजनीतिक दलहरूसँगको छलफलमा दलका नेताले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत विभिन्न दलका प्रतिनिधिको उपस्थिति थियो ।

दलहरूले निर्वाचनलाई मर्यादित बनाउन आचारसंहिताको पालनालगायतलाई लिएर तीनबुँदे प्रतिबद्धता पनि जनाएका छन् । दलहरूबाट निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न सहयोग गर्ने, गत चैत २५ देखि लागू भएको आचारसंहिता पूर्ण रूपमा पालना गर्ने र निर्वाचन आयोगले जारी गरेको १७ र ६० बुँदे निर्देशनलाई पालना गर्दै निर्वाचनलाई मर्यादित बनाउन सहयोग गर्ने प्रतिबद्धता आएको हो ।

कार्यक्रममा दलका प्रतिनिधिबाहेक मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने छुट कसैलाई पनि नभएको स्पष्ट पारे । आचारसंहिताको उल्लङ्घन एवम् निर्वाचनविरुद्धका गतिविधि गर्नेलाई नियमअनुसार कारबाही हुने उनको भनाइ छ । आचारसंहिताको उल्लङ्घनले सुरक्षा चुनौती थपिने र निर्वाचनलाई असर गर्नसक्नेतर्फ सबैको ध्यान जानुपर्ने प्रजिअ दाहालले बताए । प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख एवम् उपसचिव लेवन काश्यप अधिकारीले आचारसंहिता उल्लङ्घन भएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन् ।

आयोगको आचारसंहिताले चुनावको भड्किलो प्रचार र तडकभडक रोक्दै निर्वाचनका बेला उम्मेदवारले गर्न पाउने खर्चको सीमा छुट्याइदिएको अधिकारीले बताए । स्थानीय निर्वाचनका लागि मोरङका १७ स्थानीय तह र एक सय ५९ वडामा तीन सय मतदानस्थल तथा आठ सय २० मतदान केन्द्र तोकिएका छन् । मोरङमा सात लाख १५ हजार दुई सय २३ मतदाता छन् । सबैभन्दा बढी विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार एक सय ४२ र सबैभन्दा कम केराबारी गाउँपालिकामा २३ हजार नौ सय ९० मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय