उर्लाबारी । उर्लाबारीको शिक्षा क्षेत्रमा चिरपरिचित नाम हो, श्याम बस्नेत, राजेश महेश्वरी र केशव राई । तीन दशकदेखि उर्लाबारीलाई आफ्नो कर्मथलो बनाएर शिक्षासेवामा लागिरहनु भएका यी तीन व्यक्तित्व आ–आफ्नो विषयमा दख्खल राख्ने पात्र हुनुहुन्छ । उहाँहरुको नाम हटाएर उर्लाबारीमा शिक्षाको विकासको कुरा गर्दा त्यो अपुरो नै रहन्छ ।
संयोगले यी तीन पात्र अहिले एउटै शैक्षिक संस्थामा आवद्ध रहनु भएको छ । सबैले सहजै अनुमान लगाउन सक्नुहुन्छ, शिक्षा क्षेत्रका बादसाहहरु आवद्ध विद्यालयको शैक्षिक उन्नयन । हो, उर्लाबारी–७ स्थित लालीगुराँस बोर्डिङ स्कुल अहिले पढ्ने, पढाउने, घोक्ने, घोकाउनेभन्दा पनि प्रविधि र संस्कार सिकाउने थलो बनेको छ । श्याम बस्नेत, राजेश महेश्वरी र गोपाल कार्की सञ्चालक रहेको विद्यालयमा केशव राई प्रिन्सिपलको भूमिकामा रहनु भएको छ । २८ वर्षदेखि शिक्षण संस्थाको नेतृत्व सम्हाल्नु भएका राई गत वर्षदेखि लालीगुराँसको प्रिन्सिपल मात्र बन्नु भएको छैन, विद्यालयको प्रगतिको साधक पनि बन्नु भएको छ ।
झट्ट हेर्दा विद्यालयको ‘लुक्स’ सामान्य देखिएपनि शिक्षणको गुणस्तर भने निकै बलियो छ । ‘निजी विद्यालयको भीडमा भिन्न प्रकारले जाउँ भन्ने सोचले अघि बढेका छौं’ प्रिन्सिपल राई भन्छन्, ‘सबै विद्यालयको पाठ्यक्रम, विषयवस्तु एउटै भएपनि हाम्रो शैक्षिक रणनीति फरक छ, ठूलोभन्दा असल नागरिक बनाउने हाम्रो ध्येय छ ।’ स्कुल, कलेज चलाएको अनुभवी टिमले लालीगुराँसका विद्यार्थीलाई मार्गदर्शन गर्न योजना बनाएको छ ।
विद्यार्थीलाई शैक्षिक र अतिरिक्त क्रियाकलापमा सक्रिय गराउँदै असल नागरिक निर्माण गर्ने उद्देश्य लिएको सञ्चालक राजेश महेश्वरी बताउनुभयो । अनुभवी शिक्षक शिक्षिकाको टिमले विद्यार्थीलाई सिर्जनात्मक बनाउने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी शिक्षण गर्दै आएको उहाँको भनाई छ । यस क्षेत्रमा पहिलो पटक स्टीम टेक्नोलोजीको माध्यमबाट शिक्षण सुरु गरिएको उहाँले बताउनुभयो । विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितको समष्टिरुप नै स्टीम टेक्नोलोजी हो ।
वि.सं. २०५३ स्थापना भएको लालीगुराँस बोर्डिङ २०७० सालदेखि नयाँ व्यवस्थापनमा सञ्चालित छ । हाल ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा २२ जना शिक्षक कर्मचारी कार्यरत रहनु भएको छ । विद्यार्थीको सुविधाका लागि स्कुल बस, क्यान्टिनको सुविधा, कम्प्युटर ल्याब, छात्रवृत्तिको व्यवस्थालगायतका सुविधा प्रदान गरिएको सञ्चालक श्याम बस्नेत बताउनुहुन्छ । विद्यालयको पूर्वाधारभन्दा गुणस्तरलाई ध्यान दिई विद्यार्थीको मनोविज्ञान बुझेर आफूहरुले सिकाइलाई अघि बढाएको उहाँको भनाई छ । विद्यालयले हरेक कक्षाका तीन जनालाई छात्रवृत्ति प्रदान गरेको छ भने नमूना बाल गृहका तीन जना बालबालिकालाई निःशुल्क पढाउँदै आएको छ ।























