पुजन दास
उर्लाबारी । उर्लाबारीको मेयर को बन्छ भन्ने भन्दा पनि वर्तमान मेयर खड्ग फागो उम्मेद्वार बन्ने वा नबन्ने भन्ने बिषय चर्चापरिचर्चाको विषय बनिरहेको छ ।
केही मिडियाले शोभा पालुङ्वा चेम्जोङ उम्मेद्वार बन्ने समाचार प्रकाशित गरे । चेम्जोङकै भनाई उद्धत गर्दै टिकट पाएको र जित्ने दाबी समाचारमा आएको थियो । त्यसपछि अधिकांशले फागोले उर्लाबारीको मेयरमा पुनः दाबी छोडेको विषय चर्चामा रह्यो ।
चेम्जोङ, जयधर्म आचार्य, दुर्गाप्रसाद खतिवडाको पनि मेयरमा दाबी थियो । खतिवडाले फागोलाई सर्वसम्मत एक कार्यकाल सबैले छोड्ने प्रस्ताव राख्नु भएको थियो । केही मिडियाले फागो नै पुनः मेयरको उम्मेद्वार बनेको पनि समाचार बाहिर ल्याएका थिए । यो समाचार तयार पार्दासम्म कसैको मेयरमा फाइनल नभएको बताइएको छ । फागो नै पुनः मेयरको उम्मेद्वार रहने प्रवल सम्भावना छ । तर, फागोले आफैं छोडेको खण्डमा मात्र अर्का प्रतिष्पर्धीले मौका पाउने देखिन्छ । फागो स्वम् टिकट वितरण गर्ने ठाउँमा हुनुहुन्छ । उहाँ प्रदेश नं. १ को सह–महामन्त्री भएकाले एक कार्यकाल आफैं मेयरको उम्मेद्वार बन्ने अड्कल काटिएको छ । फागो मेयरको उम्मेद्वार बनेको खण्डमा उपमेयर सिता कार्की बन्ने निश्चित रहेको स्रोतको दाबी छ ।























