उर्लाबारी । भोलीसम्म उम्मेद्वारी दर्ताको समयसीमा तोकिएको छ । स्वतन्त्र तथा साना दलहरुले आज मेयर, उपमेयरसहित ४३ जनाले आज उम्मेद्वार दर्ता गराएका छन् । मुख्य दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपालगायतले भोली उम्मेद्वारी दर्ता गर्दै छन् । गठबन्धनका बारेमा ब्यापक छलफल भएपनि निकास नपाउँदा मोरङमा गठबन्धनै अलमल पर्यो । उर्लाबारीमा गठबन्धनको सम्भावना कायम रहेको भएपनि सबैले एक्लै लड्नेसम्मको तयारी गरिरहेका छन् ।
एमालेले मेयरमा गंगाप्रसाद खरेल र उपमेयरमा मिना पौडेललाई उम्मेद्वार बनाएको छ भने कांग्रेसबाट मेयरमा खड्ग फागो र सीता कार्की उम्मेद्वार बन्ने बुझिएको छ । तर, आधिकारिक घोषणा भएको छैन । माओवादी केन्द्रबाट शिला भट्टराई र गजेन्द्र दंगालमध्ये एक मेयर र अर्को उपमेयर बन्ने सम्भावना रहेको छ । नेकपा एकीकृत समाजवादीले राप्रपा, जनता समाजवादी पार्टी, लिम्बूवानलगायतसँग चुनाबी तालमेलका बारेमा छलफल गरिरहेको छ भने माओवादी केन्द्रले सकभर कांग्रेससँग गठबन्धन गर्ने र नभए एक्लै समानजनक रुपमा मत ल्याउने हिसाबमा अघि बढ्ने जानकार स्रोत बताउँछ । नेकपा एकीकृत समाजवादीले मेयरमा मानबहादुर श्रेष्ठलाई अघि बढाएको छ । त्यसैकारण अन्य दलको साथ खोजिरहेको छ । यता माओवादी केन्द्र उर्लाबारीले भने भोली विहान कांग्रेससँग निर्णायक छलफल गर्ने जनाएको छ । नभए भोली सबै पदमा माओवादी केन्द्रको उम्मेद्वारी रहने माओवादीका उर्लाबारी नगरअध्यक्ष गजेन्द्र दंगालले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाका वर्तमान मेयर खड्ग फागोले गठबन्धन गरेरै अघि बढ्नु पर्ने बताउँदै आउनुभएको छ । छिमेकी लेटाङ नगरपालिकालगायतमा कांग्रेस र माओवादी मिलेर चुनाब लड्ने भएका छन् । जसका कारण उर्लाबारीमा पनि माओवादी र कांग्रेसको चुनाबी तालमेल हुन सक्ने देखिएको छ । त्यसो नभए दुबै दलले आ–आफ्नो तरिकाले उम्मेद्वारी दिने पक्का छ । जसपा उर्लाबारीले पनि मेयरमा राजकुमार राई अघि सारेको छ भने लिम्बूवानले बरुण लाबुङलाई मेयरमा अघि सारिसकेको छ । विगतमा एमालेले उपमेयरसहित बहुमत ल्याएकाले उर्लाबारीमा कांग्रेसलाई एक्लै जित्न भने सहज छैन ।























