पुजन दास, उर्लाबारी
खड्गबहादुर फागो परिचित नाम हो । फागो उर्लाबारी नगरपालिकाको निवर्तमान नगरप्रमुख तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री हुनुहुन्छ । उहाँ बुबा चञ्चलाल फागो र दुई आमा ठुलिआमा जयकालि फागो र नरमाया फागोमध्ये,नरमाया पट्टिका फागो कान्छो छोरा हुनुहुन्छ । नरमायापट्टिबाट उहाँका दुई दाजु र पाँच दिदीहरू हुनुहुन्छ । धनकुटामा क,ख,ग,सिक्नुभएका फागो, २०३९ मा बाबुको स्वार्गारोहण भएपछि उर्लाबारीमा ठुलोदाजु मानबहादुर फागो आउनुभयो । उहाँ वडा सह–सचिब, क्षेत्रीय सदस्य, का.वा. क्षेत्रीय सचिव, क्षेत्रीय कार्यसम्पादन उपसभापति हुँदै, क्षेत्रीय सभापति भईसक्नुभएको छ । दुई छोरा र श्रीमतीका साथ उर्लाबारी–५ मा बसोबास गर्दै आउनुभएका फागो प्रदेश नं. १ कै चर्चित युवा नेताको रुपमा मान्ने गरिएको छ । उहाँले राजनीति शास्त्रमा स्नातक (बिए) र ग्रामीण विकासमा स्नातकोत्तर (एमए) उपाधि हासिल गर्नुभएको छ ।
दुई कार्यकाल सर्वसम्मत क्षेत्रीय सभापति हुँदै गर्दा उहाँले कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह समेत गर्नुभएको थियो । सैद्धान्तिक र वैचारिक स्पष्ट अडान, कुशल, निडर, कार्यकर्ताको दुःखका सारथी फागो अग्रजहरुको क्षमता र अनुभवलाई आत्मसात गर्दै अघि बढेका युवा नेतृत्व हुनुहुन्छ । फागो कहाँ समस्या लिएर जाने जो कोहीलाई पनि सहयोग गर्ने बानीका कारण पार्टीभित्र र वाहिर उत्तिकै लोकप्रियता देखिन्छ । आश्वासन मात्र लिएर फर्कनु नपर्ने भेटघाट भएका ब्यक्तिहरु बताउँछन् । सबैको समस्या तुरून्त समाधान गरिदिने व्यक्तिको रूपमा फागो चिनिनुहुन्छ । सरल ब्यवहार, सहयोगी भावना र सबैलाई सद्भावले हेर्ने उहाँको स्वभाव एबं दृष्टिकोण आफैँमा प्रशंसनीय छ । पार्टीमा स्पष्ट वक्ता र क्षमतावान नेता फागोले पैसा कमाउन नभई जनताको सेवाका लागि राजनीतिमा लागेको बताउने गर्नुहुन्छ । स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, अनियमितता रोक्न फागोले निर्वाह गरेको भूमिकाको सर्वत्र प्रशंसा हुने गरेको छ । उहाँले भन्ने गर्नुभएको छ, “जनताको पैसा एक रुपैया खान्न, कसैलाई खान पनि दिन्न ।’ मोरङ १ मा क्षेत्रीय सभापति हुँदा फागोको नेतृत्वमा भएका कार्यहरु अविश्मरणीय रहेका छन् । स्थानीय तहमा एमालेको किल्लाका रुपमा रहेका उर्लाबारी, लेटाङ, केराबारीमा नेतृत्व काँग्रेसले जित हात पारेको छ । फागोको पार्टीप्रतिको क्रियाशीलता, सक्षमता, सबलता र नेतृत्वदायी भूमिकाबाट प्रेरित भएर सयौंको संख्यामा युवा पार्टी प्रवेश गरेका छन् ।























