उर्लाबारी । उर्लाबारी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार खड्ग फागोले पुनः एक पटक नगरबासीको सेवा गर्न आफूले सांसदको टिकट त्यागेर मेयरमा उम्मेद्वारी दिएको बताएका छन् ।
मगलबार उर्लाबारी वडा नं. ३ चन्दने चौक र दुर्गा चौकमा आयोजित चुनावी कोणसभामा उनले भने, ‘पार्टीको केन्द्रीय नेतृत्वले मलाई सांसदमा उम्मेद्वार बन्न अनुरोध गरेको हो । तर, समृद्ध उर्लाबारीको चाहना पूरा गर्न सांसदको टिकट त्यागेर मेयरको उम्मेद्वार बनेको हुँ ।’
उर्लाबारीलाई भ्रष्टाचाररहित समृद्ध बनाउने लक्ष्य पूरा गर्ने जनाउँदै उनले भ्रष्टाचार निर्मुल पार्न लाग्दा कतिपय भ्रष्ट चरित्रका व्यक्तिहरुले विरोध गरेको बताए ।
सो अवसरका उनले आफ्ना प्रतिबद्धता पनि जाहेर गरेका थिए । थापा चौकदेखि पथरीको कालापानी जोड्ने सडक कालोपत्रे गर्ने, सडक बत्ती विस्तार गर्ने, गरिब तथा विपन्नको निःशुल्क स्वास्थ्य बिमा गर्ने, कालापानी र चन्दने जोड्ने सुन्झोडा खोलामा पुल बनाउने, दुर्गा माविको शैक्षिक स्तर उकास्ने बताए । आफ्नो कार्यकालमा ठूल्ठूला भ्यु टावर नबनाएपनि जनताले पाउने आधारभुत कुराहरु निर्माण गरेर अघि बढेको उनले बताए ।
आफ्नो पार्टीको बहुमत नहुँदा योजना मुताविक विकास गर्न नसकेको बताउँदै उनले यस पटक बहुमत दिएर काम गर्ने सहज वातावरण बनाउन आग्रह गरे । आफू विजयी भएपछि ७५ वर्षमाथिका ज्येष्ठ, अपांगता भएकाहरुलाई घरघरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने बताए ।
यस्तै, आम्बाडी बजारमा उर्लाबारी ८ र ९ को संयुक्त कोणसभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेद्वार खड्ग फागोले सो क्षेत्रमा कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउने कार्यको थालनी गर्ने बताउँदै महिलाहरुलाई आर्थिक आत्मनिर्भरताका लागि नयाँ नयाँ कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए ।























