उर्लाबारी । उर्लाबारी वडा नं. ७ मा साझा गठबन्धनले लोकप्रिय उम्मेद्वारहरु छानेपछि नेपाली कांग्रेस र एमालेका उम्मेद्वारहरुलाई कडा टक्कर दिइरहेका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच गठबन्धन भएको हो । उर्लाबारी वडा नं. ७ मा मैथिली सेवा समाजका अध्यक्ष पवन चौधरीलाई वडाध्यक्षमा उठाएको छ भने सदस्यहरुमा दलित समूदायका अगुवा यामलाल रसाईली र युवा संचारकर्मी सरोज बस्नेतलाई उम्मेद्वार बनाइएको छ । तीन जना नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नु भएको छ ।
त्यस्तै, महिला सदस्यमा सिता पराजुली र दलित महिला सदस्यमा शान्ति सुन्दास दर्जीको पनि माहोल राम्रो देखिएको छ । उहाँहरु नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट उम्मेद्वार बन्नुभएको हो । उक्त टिमको घरदैलो कार्यक्रममा पनि वडाबासीहरुको सकारात्मक प्रतिकृया पाइएको छ । समग्र वडाको विकासलाई प्राथमिकताको आधारमा अघि बढाउने प्रतिबद्धता गरेको उक्त टिमका उम्मेद्वारहरुको चर्चा निकै देखिएको छ । गठबन्धनका उम्मेद्वारहरुले जितेको खण्डमा ब्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर ५ बर्ष जनताको सेवामा तल्लिन रहने वडा सदस्यको उम्मेद्वार सरोज बस्नेतले प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले जनताको गुनासो नआउने गरी काम गर्ने योजना रहेको सुनाउनुभयो । भोटका बेला मात्र होइन, अन्य समयमा पनि वडाबासीहरुको घरघरमा गएर गुनासो सुन्ने र सम्भव भएसम्म वडाबाटै र नभए उपल्लो निकायहरुमा विशेष पहल गर्ने योजना रहेको उहाँको भनाई छ । वडाध्यक्षका उम्मेद्वार पवन चौधरीले पनि पटक पटक एमाले र कांग्रेसलाई जिताउँदा वडाबासीको अपेक्षा पूरा नभएकाले यस पटक मौका दिन अपिल गर्नुभयो । एक सातादेखि वडाध्यक्ष चौधरीसहितको टिम घरदैलो कार्यक्रमसहित गुनासा सुन्ने काम गरिरहेको छ । आइतबार मेयर, उपमेयरका उम्मेद्वारसहित बृहत घरदैलो कार्यक्रम गरिने जनाइएको छ ।























