उर्लाबारी । नेपाली कांग्रेसबाट उर्लाबारी नगरपालिकाको मेयर पदको उम्मेद्वार बन्नु भएका खड्ग फागोले अबको पाँच बर्षमा समृद्ध उर्लाबारी बनाउने संकल्प गर्नुभएको छ ।
पहिलो पटक आफु मेयरमा निर्वाचित हुँदा धेरै कामहरु गरिसकेको र थप काम पूरा गर्नका लागि पुनः एक पटक मेयरमा मत दिई आफुलाई विजयी गराउन पनि उहाँले नगरबासीहरुमा अपिल गर्नुभयो । अल्पमतको बाबजुद पनि धेरै काम भएको र यस पटक बहुमतसहित विजयी गराउन उहाँले आग्रह गर्नुभएको छ ।
अघिल्लो कार्यकालमा आफु अल्पमतमा परेका कारण सोचेका धेरै योजनाहरुलाई कार्यान्वयन गराउन सकस भएको भन्दै मेयरका उम्मेदवार फागोले यस पटक नेपाली कांग्रेसलाई बहुमत दिलाईदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –‘नेपाली कांग्रेसलाई बहुमत दिनुहोस्, हामी उर्लाबारीका ५ ठाउँमा आवश्यकताका आधारमा आकाशे पुल निर्माण र नगरपालिका कार्यालयदेखि वडा कार्यालयसम्म जाने सडकलाई कालोपत्रेको माध्यमबाट जोड्छौँ ।’ यस्तै सोही क्रममा उम्मेदवार फागोले आफु निर्वाचित भएर आएपछि आफूले उर्लाबारीमा गुण्डागर्दी अन्त्य गरेको उर्लाबारी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार खड्ग फागोले बताउनुभयो । उहाँले नेकपा एमालेबाट मेयरमा उम्मेदवार बनेका गंगाप्रसाद खरेललाई ईकित गर्दै भन्नुभयो–‘गुण्डागर्दी र चन्दा आतंक अन्त्य गर्छु भन्नु सस्तो लोकप्रियताका लागि मात्र हो । उर्लाबारीको गुण्डागर्दीको अन्त्य कसले गरेको छ जनाताले बुझेका छन् । ’
आफू मेयर पदमा रहँदा पाँच वर्षको अवधिमा विभिन्न बाधा अवरोधबीच पनि उल्लेखनीय कार्य गरेको बताउँदै मेयरका उम्मेद्वार फागोले गर्न बाँकी धेरै कुरा भएकोले पुनः एक पटक जिताएर समृद्ध उर्लाबारी बनाउने अभियानमा सहभागी हुन उहाँले मतदातालाई आग्रह गर्नुभयो ।
सुकुम्बासी जहाँ बसेका छन्, त्यही ठाउँका जग्गाको धनीपूर्जा वितरण गर्ने उहाँले बताउनुभयो । ‘धनीपूर्जा वितरण गर्न ९७ प्रतिशत काम पूरा भएको छ’ उहाँले भन्नुभयो, ‘निर्वाचन आचारसंहिताका कारण वितरण गर्न सकिएन, चुनावपछि लगत्तै वितरण हुन्छ ।’ जसका लागि ५ हजार २१५ परिवारको लगत संकलन गरिसकिएको उहाँको भनाई छ । अब आफ्नो नेतृत्वमा काँग्रेसलाई बहुमत दिन आग्रह गर्दै उनले निर्वाचित भएपश्चात अति गरिब, सामान्य र मध्यम गरिबीको डाटा संकलन गरेर निःशुल्क स्वास्थ्य बिमा गरिने बताउनुभयो । साथै, उपचार गर्न पैसा अभाव भयो भनेर भन्ने दिनको अन्त्य गर्ने उहाँको भनाई छ । २५ युनिटसम्मको विद्युत र गरिब विपन्नलाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण गर्ने आफ्नो प्रतिबद्धता रहेको बताउँदै उहाँले खानेपानीको धारा जडानमा ५० प्रतिशत सहुलियत प्रदान गरिने बताउनुभयो । उर्लाबारीको दुर्गापुरी, इटहरा रोड, मधुमल्ला रोड, नगरपालिका कार्यालय अगाडि, स्कुल डाँडा र मंगलबारेमा आकासे पुल निर्माण गर्ने उहाँको भनाई थियो । उर्लाबारी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेद्वारलाई बहुमतले विजयी गराउन आग्रह गर्दै उहाँले विपन्न वर्गका नागरिकहरुको जीवनस्तर उकास्न सीपविकास तालिमहरु सञ्चालन गर्ने बताउनुभयो । नेकपा एमालेबाट मेयरका उम्मेद्वार रहेका गंगाप्रसाद खरेलप्रति लक्षित गर्दै मेयरका उम्मेद्वार फागोले भन्नुभयो, ‘आफ्नै घरअगाडि आफैँले गरेको कालोपत्रे भत्केको थाहा छैन, नगरपालिकाले निर्माण गरेको कालोपत्रे भत्कियो भनेर भ्रम छर्दै हिँडेका छन्न् ।’ प्लटिङ व्यवसायीले कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउँछु भन्नु हाँस्यास्पद भएको उहाँले बताउनुभयो ।























