उर्लाबारी । उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर तथा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार खड्ग फागोले आफूले नगरपालिकाको एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताउनुभएको छ ।
नेकपा एमालेले आफूमाथि अनियमितता र भ्रष्टाचार गरेको भनेर अफवाह फैलाएको उहाँको भनाई छ । भ्रष्टाचार र अनिमितता रोक्दा ‘सिंह’ उपनाम दिन्छन् भने आफूलाई स्वीकार्य भएको उहाँले बताउनुभयो । आज उर्लाबारी वडा नं. ८ र ९ को संयुक्त कोणसभालाई सम्बोधन गर्दै फागोले भने, ‘मैले नगरपालिकाको १ रुपैयाँ भ्रष्टाचार गरेको ठहर भए सजाय भोग्न तयार छु ।’ तथ्य र प्रमाणविना सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जाल रंगाउनुको कुनै अर्थ नरहेको उहाँले बताउनुभयो । विपक्षीहरुले बेरुजुलाई भ्रष्टाचार ग¥यो भनेर भ्रम छर्दै भोट मागेको बताउँदै उहाँले प्रश्न गर्नुभयो, ‘यदि मेरो नाममा बेरुजु र भ्रष्टाचार हुन्थ्यो भने मैले उम्मेद्वारी दिन पाउँथे त ?’
मेयर हुँदा आफ्नो ध्यान विकासका कार्यमा गएको बताउँदै उहाँले आगामी कार्यकालमा नमूना उर्लाबारी बनाउने गरी कार्य गर्ने बताउनुभयो । उहाँले उर्लाबारीका विभिन्न स्थानमा आकासे पुल बनाउने योजना अघि सारेका सार्नुभएको छ भने सुकुम्बासीलाई जहाँ बसेका त्यहीँ जग्गा धनी प्रमाणपुर्जा वितरण गर्नका लागि नेपाल सरकारसँग सम्झौता गरेर ५ हजार २ सय १५ जनाको लगत संकलन भएको र धनीपुर्जा वितरणको तयारीमा रहेको बताउनुभयो ।
एमालेको घोषणा पत्रमा एउटै कुरा २÷३ ठाउँमा दोहो¥याए जनतामा भ्रम छरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उर्लाबारीमा रिङरोड बनाउँछौँ भनेर भ्रम छर्दैछन् । रिङरोडको डिपिआर गरेर प्रक्रिया अघि बढिसक्यो । उनीहरुलाई थाहै छैन ।’
नेकपा एमालेका मेयरका उम्मेद्वार गंगा खरेल झगडा परेको देख्दा चप्पल छोडेर भाग्ने गरेको बताउँदै फागोले त्यस्ता मान्छेले गुण्डागर्दी अन्त्य गर्छु भन्नु हाँस्यास्पद रहेको बताउनुभयो । प्लटिङ ब्यवसायीले सरकारी जग्गाको संरक्षण गर्छु भन्नु अर्को हास्यास्पद कुरा भएको उहाँको भनाई छ ।
नेपाली काँग्रेसलाई बहुमतसहित विजय गराएको खण्डमा बिपन्नहरुलाई १० हजार लिटर खानेपानी र २५ युनिटसम्म विद्युत निःशुल्क वितरण गर्ने उनको योजना छ । फागोले आर्थिक अभावमा औषधि उपचार नपाएर बिपन्नले तड्पिनु नपर्ने बताउँदै विपन्नको स्वास्थ्य बिमा गरिदिने बताउनुभयो । मापदण्ड पुगेका सडकहरुलाई ड्रेनसहितको कालोपत्रे गर्ने, कृषि उत्पादनमा ५० प्रतिशतभन्दा बढी वृद्धि गर्ने योजना रहेको उहाँले बताउनुभयो ।























