
उर्लाबारी । उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर तथा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार खड्ग फागोले नेपाली काग्रेसलाई बहुमतले जिताए उर्लाबारी नगरपालिकाको ६ स्थानमा ५ वर्ष भित्रमा आकाशे पुल निर्माण गर्ने बताएका छन् ।
आफू यस अघि पनि मेयरमा जननिर्वाचित हुदा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र ५ वर्षको अनुभवमा स्रोत सुनिस्चितता कहाबाट हुन्छ भन्ने राम्रो ज्ञान पाएका कारण यो कुरा सम्भव भएको बताउदै उनले भने-“बहुमत दिनुहोस निर्वाचित भएको ५ वर्ष भित्रमा उर्लाबारीको इटहरा रोड, मधुमल्ला रोड, स्कुल डाडा, नगरपालिका कार्यालय अगाडी, मगलबारे चौक र दुर्गापुरीबजारमा आवश्यताका आधारमा आकाशेपुल हरु निर्माण गर्छौँ।”
यस्तै फागोले नेकपा एमालेले आफूमाथि अनियमितता र भ्रष्टाचार गरेको भनेर अफवाह फैलाएको उनले बताए ।
भ्रष्टाचार र अनिमितता रोक्दा ‘सिंह’ उपनाम दिएर जनतामा अनर्गल प्रचार गरेको बताउदै उनले भने- “भ्रष्टचार, अनिमितता र शुसासन कायम गराउन खोज्दा कसैले मलाई सिह उपनाम दिन्छन् भने आफूलाई स्वीकार्य छ।”
शनिवार उर्लाबारी वडा नं. ८ र ९ को संयुक्त कोणसभालाई सम्बोधन गर्दै फागोले भने, ‘मैले नगरपालिकाको १ रुपैयाँ भ्रष्टाचार गरेको ठहर भए जेल सजाय पनि भोग्न तयार छु तर प्रमाणित गर्नुपर्यो अफाह फैलाएर भएन।’ तथ्य र प्रमाणविना सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जाल रंगाउनुको कुनै अर्थ नरहेको उनले बताए ।
विपक्षीहरुले बेरुजुलाई भ्रष्टाचार गर्यो भनेर भ्रम छर्दै भोट मागेको बताउँदै उनले प्रश्न गरे, ‘यदि मेरो नाममा बेरुजु र भ्रष्टाचार हुन्थ्यो भने मैले उम्मेद्वारी दिन पाउँथे त ?’
मेयर हुँदा आफ्नो ध्यान विकासका कार्यमा गएको बताउँदै उनले आगामी कार्यकालमा नमूना उर्लाबारी बनाउने गरी कार्य गर्ने बताए ।
उनले उर्लाबारीका विभिन्न स्थानमा आकासे पुल बनाउने योजना अघि सारेका छन् । यस्तै, सुकुम्बासीलाई जहाँ बसेका त्यहीँ जग्गा धनी प्रमाणपुर्जा वितरण गर्नका लागि नेपाल सरकारसँग सम्झौता गरेर ५ हजार २ सय १५ जनाको लगत संकलन भएको र धनीपुर्जा वितरणको तयारीमा रहेको बताए ।
एमालेको घोषणा पत्रमा एउटै कुरा २/३ ठाउँमा दोहोर्याए जनतामा भ्रम छरेको उनले बताए । भने, ‘उर्लाबारीमा रिङरोड बनाउँछौँ भनेर भ्रम छर्दैछन् । रिङरोडको डिपिआर गरेर प्रक्रिया अघि बढिसक्यो । उनीहरुलाई थाहै छैन ।’
नेकपा एमालेका मेयरका उम्मेद्वार गंगा खरेल झगडा परेको देख्दा चप्पल छोडेर भाग्ने गरेको बताउँदै फागोले त्यस्ता मान्छेले गुण्डागर्दी अन्त्य गर्छु भन्नु हाँस्यास्पद रहेको बताए । प्लटिङ ब्यवसायीले सरकारी जग्गाको संरक्षण गर्छु भन्नु अर्को हास्यास्पद कुरा भएको उनले बताए ।
नेपाली काँग्रेसलाई बहुमतसहित विजय गराएको खण्डमा बिपन्नहरुलाई १० हजार लिटर खानेपानी र २५ युनिटसम्म विद्युत निःशुल्क वितरण गर्ने उनको योजना छ ।
फागोले आर्थिक अभावमा औषधि उपचार नपाएर बिपन्नले तड्पिनु नपर्ने बताउँदै विपन्नको स्वास्थ्य बिमा गरिदिने बताए । मापदण्ड पुगेका सडकहरुलाई ड्रेनसहितको कालोपत्रे गर्ने, कृषि उत्पादनमा ५० प्रतिशतभन्दा बढी वृद्धि गर्ने योजना रहेको उनले जनाए ।