
उर्लाबारी नगरपालिकाले २२ औं राष्ट्रिय धान दिवस उर्लाबारी ९ को आसामे टोलमा रोपाइँ कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असारलाई लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि असार १५ मा दही, चिउरा र आँप खान्छन् । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन ।
आसामे टोलमा नौमति बाजासहित भएको सामूहिक धान रोपाइँ कार्यक्रममा उत्साहपूर्वक रोपाइँ गरिएको थियो । स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीलगायतले धान रोपाई गरेका थिए । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले धान रोपाइँ कार्यक्रमको शुभारम्भ गर्नुभयो । नगर उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, वडाध्यक्षहरु नरबहादुर मोक्तान, कुलबहादुर कार्की, तिलक पाण्डे, नगरपालिकाका कृषि शाखा प्रमुख अम्बिका लुइँटेललगायतको रोपाइमा सहभागिता रहेको थियो । जीवनज्योति महिला साना किसान सहकारी संस्थाले रोपाई कार्यक्रमको आयोजना गरेको हो । ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ यो वर्ष देशभरमा राष्ट्रिय धान दिवस मनाइएको छ । कार्यक्रममा बौल्दै नगर प्रमुख खरेलले कृषि उपज वस्तुको उत्पादन बढाउन र यहाँका किसानको संरक्षण गर्ने मुख्य दायित्व स्थानीय तहको काँधमा रहेको बताउदै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याइएको बताउनुभयो । नगरपालिकाका कृषि शाखा अधिकृत मनिष भट्टराईले कार्यक्रम संचालन गर्नुभएको थियो ।