पुजन दास
उर्लाबारी । झापा र मोरङको सिमानामा पर्ने मावा खोलाको पुल जोखिममा परेको छ । गत बर्ष आएको बाढीले पुलमा क्षति पु¥याएको थियो ।
उर्लाबारी क्षेत्रमा पर्ने पुलमा ठूलो क्षति पु¥याएको र सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय प्रकाश घिमिरेको भनाई छ । आज मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) र उर्लाबारी नगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले स्थलगत निरीक्षण गरी दिर्घकालिन रोकथामका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । प्रदेश सांसद लिम्बूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग, सडक डिभिजन, विराटनगरमा पुल जोखिमपूर्ण अवस्थामा रहेको जानकारीसहित तत्काल काम अघि बढाउन फोनमार्फत आग्रह गर्नुभएको छ । ठेक्काको सूचना निस्किएको भएपनि हालसम्म प्रक्रिया अघि नबढ्दा पुलको जोखिम बढेको स्थानीयको भनाई छ । बाढी आउनसाथ पुलमा ठूलो क्षति पुग्ने खतरा रहेको र तत्काल काम गर्न आवश्यक रहेको सांसद लिम्बूले बताउनुभयो ।
त्यस्तै, उर्लाबारी नगरपालिकाका पूर्व मेयर तथा प्रदेश सह–महामन्त्री खड्ग फागोले पनि बाढीले पुलमा क्षति पुगेको र चाँडै निर्माण प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले सम्बन्धित निकाय चाँडो काम थाल्नका लागि पहल गर्ने स्थानीयलाई बचन दिनुभयो । स्थानीय युवा सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।























