चितवन। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल पुनः निर्वाचित भएकी छिन् ।
भरतपुरमा ११ हजार १७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् । कुल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ ।
जसमध्ये रेणु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । दाहाल र सुवेदीको मतान्तर ११ हजार ४५७ रहेको छ । यो मतान्तर गणना गर्न बाँकी रहेको मतभन्दा बढी भएको कारण उनी निर्वाचित बनिसकेकी हुन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत पाएका छन् । यस्तै महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न बाँकी हुँदा नै विजयी भएका छन् । अधिकारीले ४७ हजार ९५८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २७ हजार ९२२ पाएकी छन् ।
अधिकारीले २० हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् ।























