मञ्जुल मितेरी
१)म १२/१३ बर्षको हॅुदो हॅु । पानी लिन राम्रै गाग्री लिएर देवीथान धारा जानुभएको मेरी आमाले कुच्चिएको गाग्रोमा पानी लिएर आउनुभयो । आमाले भन्नुभयो -“गाग्रो छोएको निहुमा उपल्लो जातकी एक जना दिदीले आमाको गाग्रो फ्यॅाकीदिनु भयो” रे ।
२)मेरो बुवा र आमाको अन्तरजातीय विवाह हो । वहॅाहरुले विवाह गरेर म १४ बर्षको हॅुदासम्म मेरी आमा माईतीमा जान सक्नुभएको थिएन । १५ बर्षसम्म आमाले आफ्नो बुवालाई भेट्न देख्न पाउनु भएन (हजुरआमा पहिले नै खस्नुभको रे)। आफ्नो बुवा खसेको खबरले आमा धेरै रुनुभयो । मैले पनि मेरो मामली हजुरबुवालाई यो जिन्दगीमै देख्न भेट्न पाईन जसको चोट यो मनमा कहिल्यै नमेटिने गरी बसेको छ ।
३)एस एल सी परिक्षा दिएपछि म मूर्तिकला सिक्न भनी काठमाण्डौ गएँ । काठमाण्डौंमा म नेपालको तात्कालीन कम्युनिष्ट सरकारको यातायात मन्त्रीको क्वार्टरमा बस्थें । जनै पुर्णिमाको दिन क्वार्टरमा बिहानै देखि जनै पुर्णिमाको पुजाको रौनक थियो । मैले पनि पुजाको तयारीको लागि खूबै मेहनत गरें । जब जनै बॅाध्ने बेला आयो, मैले पनि मन्त्राणी ज्यूलाई जनै बॅाध्ने कुरा गरें । वहॅाले बडो हकारेर भन्नुभयो – “धत् पागल, तिमीहरुको जातले जनै लाउनु हुदैन ।”
४)त्यही बेला मूर्तिकला सिक्न म काठमाण्डौकै एक मूर्तिकला केन्द्रमा मेरो जात ढॅाटेर बसें । म भर्खर १५ बर्षको थिएँ । मलाई भनिएको थियो की काठमाण्डौंमा ‘सानो जात’को मान्छेले काम, डेरा पाउदैन । आफ्नो जात ढॅाटेकोमा मलाई प्रत्येक दिन छटपटी भईरहन्थ्यो त्यसैले एकदिन हिम्मत गरेर मैले उक्त मूर्तिकलाको मालिकको छोरालाई भनें – “मेरो जात कामी हो । यहॅा ‘सानो जात’को सबैले जात ढॅाट्नु पर्छ भन्थे र मैले पनि ढॅाटेको हो ।” तर ती दाइले भन्नुभयो – ‘केही छैन । म सानो र ठूलो जातमा विश्वास गर्दिन । अप्ठ्यारो नमान । तर हाम्रो बुवा आमालाई चाहिं यो कुरा नभन्दै राम्रो हुन्छ होला ।’
५)मेरो पनि अन्तरजातीय विवाह नै हो । मेरी श्रीमतीको माइती पक्षबाट कुनै अवरोध र विरोध नगरे पनि गाउॅका केही गन्ने मान्नेहरुले हामीलाई छुटाउन खूब दुस्प्रयास गर्नुभयो । तर मेरी श्रीमतीका प्रगतिशील माइतीहरुले ती दुस्प्रयासहरुलाई निष्काम पारीदिनुभयो ।
६)वि.सं. २०६९ सालमा मूर्तिकलाको कामको शिलशिलामा तात्कालिन उर्लाबारी प्रहरीका निरीक्षक ज्यूसॅग केही महिना सॅगसॅगै भईयो । वहॅाले एक दिन मेरो जात सोध्नुभयो । मैले मेरो जात कामी र थर बराइली हो भनें । वहॅाले भन्नुभयो – “हैट्, तपाईं बिश्वकर्मा होईन होला, आमा झुक्किनु भए जस्तो छ।” मलाई बहुत घोच्यो त्यो वाक्यले । हाम्रो त्यो मीत्रतालाई कति सजिलै एक वाक्यले चकनाचुर पारीदिनु भयो वहॅाले । मीत्रताका कारण म केही बोलिन त्यो बेला तर आजसम्म बारबार घोचिरहन्छ मन ।
७)वि.सं. २०७२ साल तिर मूर्तिकलाको कामकै शिलशिलामा म ताप्लेजुङको एक बिकट गाउॅमा गएको थिएँ । सो कामको सम्पर्क ब्यक्ति मेरा एक जना हितैषी मीत्र मसॅगै जानुभएको थियो । त्यहॅा २ दिन बस्दा वहॅाले मेरो जात ढॅाट्नु भएको रहेछ । यो कुरा थाहा पाएपछि म सो कामको योजना त्यागेर घर फर्किएँ । पछि कुनै समय हामी बिच कुरा हॅुदा मैले वहॅालाई भनें की “म मेरो जात लुकाएर त्यहॅा काम गर्न सक्दिन त्यसैले माफ पाउॅ ।”
८)बि.सं. २०७३ सालको कुनै एक बिहान उर्लाबारीका एक आदरणीय दाइको घरमा गएको थिएँ । त्यहॅा तत्कालीन टॅाडी गा वि स का भूतपुर्व अध्यक्ष ज्यू पनि हुनुहुन्थ्यो । म वहॅाको घरबाट फर्के पछि ती दाइले भन्नुभएछ -“धत्! यो कामीको अनुहार एकाबिहानै देखेर अब मेरो दिनभरीको काम बिग्रिने भयो।” यो सब सुनिरहेका अध्यक्षले ज्यूले तत्काल मेरो घरमा आएर सो दाइले मलाई भनेका ती कुराहरु सुनाउनु भयो र उक्त दाइसॅग ब्यवहार कारोबार नगर्न सल्लाह दिनुभयो । बेलुका थाहा भयो – त्यो दिनको वहॅाको सबै काम सफल भयो रे । सुन्छु – वहॅाले अझै पनि अरु थुप्रै ठाउॅ मेरो जातलाई लिएर अपमानित शब्दहरु बोल्नुहुन्छ रे ।
९)बुद्धमूर्ति निर्माणको लागि जापान आउने शिलशिलामा मसॅगै आउने मेरा कलाकार साथीले पटक पटक मेरो जातलाई होच्याएर आफ्ना साथीहरुलाई मेरो परिचय दिएको कुरा सुनियो । पछि त्यही कुराहरुले हामीबिच खटपट पनि भयो र हामी धेरै समयसम्म सॅगै काम गर्न सकेनौं ।
१०)मैले मेरो जात लुकाउन मेरो नाम पछाडी ‘मितेरी’ लेखेको होईन । यो मेरो साहित्यिक नाम हो र मेरो परिभाषा हो । तर कतिपय सुझबुझ भएका साथीभाइ, अग्रज र आफन्तहरुले यो बिषयमा मलाई प्रश्न गरीरहनु हुन्छ -“आफ्नो जात लेख्नु नि”
११)मैले मेरा केही हितैषी मीत्रहरुको जातीय संस्था निर्माण गर्नका लागि मेरो आफ्नै सम्झेर त्यसका लागि प्रशासनिक, भौतिक, आर्थिक र नैतिक रुपमा बहुतै सहयोग गरें । तर मैले जब मेरो समुदायको साहित्यको उत्थानको बारेमा केही योजनाहरु सुनाएर सहकार्य र सहयोगको कुरा राख्दा वहॅाहरुले भन्नुभयो – “धत्, यस्तो कुरामा तपाईं जत्तिको मान्छेले अल्झिनु हुदैन । मलाई यस्तो कुरामा नसम्झिदा हुन्छ ।”
१२)सबैलाई आफ्नो समुदाय र संस्कृतीहरुको माया लाग्छ । आफ्नो समुदायमाथि भएको अन्याय र अत्याचारले जो कोहीलाई असर गर्छ र त्यो मलाई पनि हुन्छ । मैले मेरो समुदायका कुराहरु मेरो कविता र बिचारहरुमा बुलन्द गर्दा मेरै आफन्त र साथीभाइहरुबाट सुन्नुपर्छ – “तपाईं जत्तिको मान्छेले यो कुराहरु गर्न सुहाउदैन ।” मैले भनेको छु वहॅाहरुलाई -“के, मेरो कला, ख्याती, प्रगति र चेतनाले अब मेरो जात बदलियो? म ठूलो जातको सरह भएँ ? मेरो समुदायको बारेमा मैले नबोले अरु कस्ले बोलिदिन्छ?”
१३)हामी हाम्रो सिर्जनाहरुमा हाम्रो जात, संस्कृती, हाम्रो भेषभूषा, हाम्रो गौरवका गाथाहरु गाउॅछौं । तपाईंले जस्तै मलाई पनि मेरो जात, मेरो संस्कृतीको गाथा गाउन मन लाग्दैन र? तर शदियौंको विभेद र अत्याचारले मेरो संस्कृति हराएको छ । तपाईं आफै भन्नुस्- मैले मेरो जात संस्कृतिलाई मेरो कवितामा लेख्न खोज्दा के लेखिन्छ? अनि भन्नुहुन्छ – खाली जातकै कुरा, विद्रोहकै कुरा, बेमौसमको कविता ।
१४)विभेदका यी श्रिंखलाहरुले मेरो जिन्दगीमा दूरगामी असर परिरहेको छ की छैन? तपाईं भन्नुहोस् ।
मैले यस्तै यस्तै विभेदका अन्यायहरु सहीरहॅदा एउटा कुरा थाहा पाएँ की विभेदको दुषित ऐंजेरु दलितको मन मष्तिष्कमा छैन । त्यो त विभेद गर्नेहरुको मन मष्तिष्कमा रहेछ । त्यो ऐंजेरु फाल्न दलित समुदायले मात्रै लेखेर, बोलेर नहुने रहेछ । ऐंजेरुवालाले नै फाल्नुपर्ने हुन्छ त्यो ऐंजेरु र यो सख्त जरुरी पनि छ ।
अतः विभेदको ऐंजेरुले कसैलाई फाईदा गर्दैन । तपाईंलाई यसले कुरुप बनाउॅछ । यो बढ्दै गए तपाईंलाई पनि हानी गर्ने हो, मलाई पनि हानी गर्ने हो । तपाईं हामी सबै मिलेर यसलाई जरैदेखि निर्मुल पारौं । को ठूलो को सानो सबैले लेखिरहौं, बोलिरहौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय