उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ८ मा आज धिमाल समूदायको महान पर्व जात्री धुमधामका साथ मनाइएको छ ।
मेलासहित जात्री पर्व धुमधामका साथ मनाइएको स्थानीय युवा रोशन धिमालले जानकारी दिनुभयो । प्रत्येक बर्षको जेठ २५ गते अठियाबारीमा मेला लाग्ने गरेको छ ।

प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस, बाली बिरुवा लगाउने बेलामा वर्षात् होस, जंगली जनावरले दुःख नदियोस, भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् ।

परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाउँदै आएको जनविश्वास छ ।

सिर्जात अर्थात् सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको सञ्चारकर्मी विजय धिमालले बताउनुभयो ।

यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिने उहाँले जानकारी दिनुभयो । यस पर्वले धिमाल जातिमा आपसी सम्बन्धमा प्रगाण बनाउँदै बन्धुत्वको भावना विकास गराउने धिमाल अगुवाको भनाई छ । असार संक्रान्ति सम्म मनाइने यो पर्व धिमालका प्रदेश न १ का ९८ वटै टोलमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँगाउँमा मेलाको आयोजना हुने गरेको छ । जात्रीमा धिमाल आफूले भाकल गरेअनुसार वस्तु चढाउने पनि गर्दछन् धिमालले दुःख– बिरामी नहोस, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकल अनुसारका वस्तु चढाउने गर्दछन् ।

यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मासु तथा ‘चिचिरी’, ‘बगिया’लगायतका परिकार खुवाउने पनि गरिन्छ । धिमाल वैशाखदेखि असारसम्मका दुई महिना धिमालका प्रत्येक टोलमा ढोल बजाएर रमाइलो गर्छन् । मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति विकास केन्द्रको परियोजनास्थलमा दुई महिनापश्चात् सांस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ । मेलामा ढोलको आवाज ढङ ढङ आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय