उर्लाबारी । पूर्वी नेपालका अल्पसंख्यक धिमाल समुदायको महान पर्व जात्री एवं सिर्जात पूजाका अवसरमा स्थानीय पालिकाहरूले सार्वजनिक बिदा घोषणा गरेको छ । मोरङ र झापाका नगरपालिकाहरूले जात्री मेला र सिर्जात पूजाको अवसरमा प्रशासनिक र शैक्षिक संस्थाहरूलाई स्थानीय बिदा दिने घोषणा गरेको हो ।
जसअनुसार झापाको दमक नगरपालिका, मोरङको उर्लाबारी नगरपालिका, बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाले असार २ गते बिहीबारका दिन स्थानीय बिदा घोषणा गरेको छ । आफूहरूले पर्वका दिन स्थानीय बिदा दिन माग गरेअनुसार स्थानीय सरकारहरूले निर्णय गरेको धिमाल जातीय विकास केन्द्रका महासचिव मातृका धिमालले जानकारी दिनुभयो ।
जात्री पर्व र सिर्जात पूजा प्रत्येक वर्ष बैशाख २ गते उद्गम स्थल मानिने लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा रहेको धिमाल ग्रामथामबाट सुरु हुन्छ । जुन असार २ गते उर्लाबारीको मङ्गलबारेमा रहेको केन्द्र (दस बिघे) मा समापन हुने गर्दछ । दुई महिनाभित्र धिमाल समुदाय बसोबास गर्ने ९८ भन्दा बढी गाउँहरूमा मेला लाग्ने गर्दछ । ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर सो पर्व प्रारम्भ गरिन्छ । भोगटेनीबाट शुरु भएपछि धिमाल बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको छ । यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गर्ने गरिएको छ ।
धिमाल जाति नेपालको पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा आदिमकालदेखि बस्दै आएका छन् । उनीहरू पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा समेत बस्छन् । उनीहरूलाई दमक नगरपालिकाको पहिलो नागरिकका रूपमा सम्मान गरेको छ । त्यस्तै, बेलबारी, उर्लाबारी, पथरीशनिश्चरेले पनि घोषणा गरेको छ । धिमाललाई मधेशको लिम्बु भनेर समेत चिनिन्छ ।
धिमाल जातिले उर्नी, तुन्जाई, ढोल, चाप्टा, गुमाना, बासुली, घुघुरूङ आदि प्रयोग गर्दछन् उर्नी तथा तुन्जाई यस जातिको लोपोन्मुख बाजा हो । यस जातिको प्रमुख चाडहरूमा पार्वा, फागु, नवाङ्गी, मेला, सिरजात, औँसी पूजा आदि हुन् । प्रत्येक चाडपर्वमा पूजाआजा गर्दा परेवा, कुखुरा आदिको बलि दिने चलन छ । २०६८ अनुसार धिमाल जातिको जनसंख्या २६,२९८ छ । यद्यपि, केन्द्रले पचास हजारभन्दा बढी भएको दाबी गर्दै आएको छ ।























