धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बिहीबार पनि स्थगित भएको छ ।
कार्यपालिका सदस्यहरुले विनियोजन विधेयक माथिको छलफल गर्दा विवाद सिर्जना गरेपछि बैठक स्थगित भएको हो ।
धरान उपमहानगरपालिकामा यसअघि पनि वडाध्यक्षहरुविरुद्ध नाराबाजी भएको भन्दै नवनिर्वाचित जनप्रतिनिधिको दोस्रो कार्यपालिका बैठक स्थगित भएको थियो ।
कार्यपालिका वैठक स्थगित भएपछि शुक्रबारको नगरसभामा बजेट र विनियोजन विधेयक नै पेश नहुने धरानका मेयर हर्क साम्पाङ्ग राईले सामाजिक सञ्जालमार्फत बताएका छन् । कार्यपालिका बैठक भाँडिएको भन्दै दुईवटा स्टाटस लेखेका मेयर साम्पाङगले भनेका छन्, ‘आजको कार्यपालिकाको बैठक पनि सम्पन्न हुन सकेन । बजेट, विनियोजन विधेयक बिना नै नगरसभा गर्नुपर्ने बाध्यता देखियो । जे होस् जय धरान भन्न चाहिं छोड्दिन ।’
सामाजिक सञ्जालमा लेखे अनुसार बैठक भाँडिएपछि उनका ६ वटा एजेण्डामा छलफल हुन सकेन । यातायात व्यवस्था विभागको शाखा धरानमा पनि माग्ने, शुक्रबार जातीय मौलिक पोशाक लगाएर विद्यार्थीहरु स्कुल जान पाउने/जानुपर्ने, राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा स्थापना गर्ने, सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गर्ने, सहयोग गर्न चाहने दाताका लागि सरकारी खाता खोल्ने/चलाउने र सर्दु जलाधारको बारेमा टुङ्गो लगाउने आफ्नो एजेण्डा रहेको उनले बताए ।
धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले मेयर सामाजिक सञ्जालमा लेखेको विषय सही भएको भन्दै आफ्नो धारणा शुक्रबार मात्र सार्वजनिक गर्ने बताए ।
‘मेयरसाबले पनि स्टाटस लेख्नु भएको छ । मैले पनि लेखेको छु । अब मिलाएर बुझ्नुस । बाँकी भोलि बेलुका मात्रै भनौंला’, बेघाले भने ।
























