काठमाडौं । पटकपटक सर्दै आएको नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा सहभागीले पार्टीभित्रको साङ्गठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका छन् । गत पुसमा पार्टीको आठौं महाधिवेशन सम्पन्न भयो । त्यसले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन ग¥यो ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहितको पदाधिकारी चयन गर्ने गरी विधानमा प्रबन्ध गरिएको छ । विधानमा व्यवस्था भए पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसक्दा पार्टीले गति लिन नसकेको भन्दै समय थप गरेर भए पनि टुङ्गो लगाउनुपर्ने माग उठेको छ ।

राजधानीको कमलादीमा आजदेखि शुरु भएको बैठकमा धारणा राख्ने क्रममा बागमती प्रदेशका अध्यक्ष सरलसहयात्री पौडेलले पार्टीको पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता, विभागहरूलाई क्रियाशिल बनाएर स्पष्ट कार्ययोजनाका साथ जनतामा जानुपर्नेमा जोड दिनुभयो ।

बैठकको शुरुमा नै अध्यक्ष प्रचण्डले पूर्व स्थायी समितिको बैठकबाट पार्टीको केन्द्रीय समितिमा मनोनित गरिएका केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ गराउनुभएको थियो । बैठकमा अध्यक्ष प्रचण्डले विभिन्न नौ वटा एजेण्डामा छलफल हुने जानकारी गराउनुभएको थियो ।

त्यसमा नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, सङ्गठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र सङ्घको निर्वाचनको तयारी र विविध विषय समावेश गरिएको थियो ।

प्रदेशहरुको विवरण प्रस्तुत गर्ने क्रममा विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले पनि पार्टीले अबलम्बन गरेको गठबन्धनको नीतिप्रति तिखो टिप्पणी गर्नुभएको थियो ।

उहाँले गठबन्धन भन्दै जाँदा पार्टीको स्वतन्त्र पहिचान नै गुम्न थालेको, चुनाव चिह्न नै बिर्सने अवस्था आएको बताउनुभयो । अध्यक्ष सिंखडाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट सबैभन्दा बढी फाइदा नेपाली काँग्रेसले लिएका टिप्पणी गर्नुभयो ।

“एउटा वडा जित्दासमेत खुशी हुनुपर्ने अवस्था आयो । एक्लाएक्लै लडेको भए पनि हाल प्राप्त भएको भन्दा धेरै स्थानमा जीत निकाल्न सकिने रहेछ ।

 

हामी गठबन्धनमा इमान्दार भए पनि काँग्रेसले इमान्दारिता देखाएन”, उहाँले भन्नुभयो, “राजधानी र मधेश प्रदेशमा हाम्रो उपस्थिती प्रभावकारी बन्न सकेन । यसमा निर्मम समीक्षा गरौं ।”

अघिल्ला बैठकमा अध्यक्षकातर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने गरिएको भए पनि यस पटक संक्षिप्त टिपोट प्रस्तुत गरेर त्यसमा छलफल गराउन लागिएको छ ।

अध्यक्ष प्रचण्डले १० पेज लामो संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । त्यसमा पार्टीले आगामी दिनमा अबलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय