धरान । धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९ / ८० बजेट पारित गराउने बैठकमा चर्काचर्की भएको छ । यद्यपी बजेट भने सर्वसम्मत रुपमा पारित भएको छ ।
बजेट पारित हुनअघिको कार्यपालिका बैठकमा भने विवाद भएको थियो ।
मेयर राई बजेट पारित गर्न नदिएको भन्दै कार्यपालिका सदस्यसित बैठकको सुरुमै कड्किन थाल्नुभयो । उहाँ एकदमकै आक्रोशित भएपछि चर्काचर्की सुरु भयो ।
उहाँले बैठकको सुरुमा नै प्रश्न गर्नुभयो, ‘बजेट पारित गर्ने कहिले ? जहिले पनि बैठक स्थगित गर्ने ? स्वतन्त्रले मेयर जित्यो यसलाई असफल बनाउनुपर्छ भनेको हो ? कि के हो त ?
हर्क साम्पाङ असफल हुनु भनेको व्यक्ति होइन, पुरै धरान असफल हुनु हो । मैले मात्रै बनाएको हो बजेट ? विषयगत समितिले छलफल गरेको छैन ?’
बजेट पारित गर्नका लागि बैठक बोलाए पनि पटक पटक स्थगित भएको थियो । त्यसलै सुरुमै आक्रोशित हुनुभएका मेयर साम्पाङ त्यत्तिमै रोकिन सक्नुभएन, ‘म निकटतम प्रतिद्वन्द्वी भन्दा ५ हजार बढि मत ल्याएर जितेको हो । स्वीकार नगर्ने ?
तपाईँहरुले धराने जनतालाई कसरी जवाफ दिनुहुन्छ । कहिले पास गर्ने बजेट, ८० सालको असारमा पास गर्ने बजेट ? बैठक जहिले सारेको छ, जहिले सारेको छ ।
बजेट पास भएन भने वडा कसरी चलाउने, गोजीको पैसाले चलाउने हो वडा ? डोनेसन माग्नुस अब, जित्ने बेला के भनेर आउनुभयो ? तपाईँहरु यति धेरै गैर जिम्मेवार पनि नबन्नुस ।’
मेयर साम्पाङ्ले उपमेयर अइन्द्र विक्रम बेघालाई पनि प्रश्न गर्नुभयो ‘तपाईँले चलाउनु भएन छलफल ?’
मेयरको आक्रोश पछि धरान उपमहानगरमा एमालेबाट जितेका जनप्रतिनिधिहरु प्रतिवादमा उत्रिएपछि अवस्था घम्साघम्सी नै बनेको थियो । मेयरलाई रोकेर वडा नम्बर १२ का वडाध्यक्ष टंकबहादुर राईले बजेट किताब ठोक्दै भन्नुभयो, ‘हेरौं कसरी पास गर्दो रहेछ बजेट ? यसरी हुन्छ ?’
लगत्तै एमालेका अन्य कार्यपालिका सदस्यले पनि होहल्ला गर्न थाल्नुभयो । एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले उपमेयर कोष खारेज गर्न माग गर्न थाल्नुभयो । मेयर र उपमेयरले त्यसको जवाफ दिइसक्नुभएको थियो ।
एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले विरोध गरेपछि उपमेयर बेघाले स्वतन्त्रबाट जितेको भन्दैमा दलबाट आएकाहरुले विरोध मात्रै गर्न नहुने भन्दै जनताको भावना समेट्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले बजेट लुकाएर छलफल नगरेको स्पष्ट पार्नुभयो । ‘बजेट ल्याउँदा पारदर्शी ढंगले ल्याएका छौं । उपमेयर कोष मैले मागेको नै छैन ।
तर भैपरी आउने कामको लागि विना शीर्षक कसरी खर्च गर्न सकिन्छ, त्यसकारण यो कोषलाई निरन्तरता दिएको हो’, उहाँले थप प्रष्ट्याउनुभयो । केही समयपछि अवस्था अलिक सहज भयो । त्यसपछि बजेट सर्वसम्मत रुपमा पारित भयो ।























