
२०७४ सालदेखि सामुदायिक विकास मञ्च उर्लाबारीले उर्लाबारी रन कार्यक्रम गर्दै आएको छ । स्वास्थ्य जीवनका लागि दौड भन्ने मुल नाराको साथ उर्लाबारी नगरपालिकालाई दौडको माध्यमबाट देशविदेशमा परिचित गराउने उद्देश्यले ‘उर्लाबारी रन’ आयोजना गरिँदै आएको छ । यस बर्ष पनि संविधान दिवस असोज ३ गतेको अवसरमा ‘उर्लाबारी रन २०७९’ हुँदैछ । आज हामीले उर्लाबारी रनका बारेमा संयोजक प्रेम बोहोरासँग छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ, कुरानकानीः
‘उर्लाबारी रन २०७९’ को तयारी के कस्तो हुँदैछ ?
‘उर्लाबारी रन २०७९’ लाई भब्य र सभ्य बनाउन हामी जुटिरहेका छौं । प्रचारप्रसारलगायतका कामहरु तीब्र गतिमा भइरहेको छ । कार्यसम्पादनका लागि विभिन्न उपसमितिहरु निर्माण गरिएको छ । उक्त समितिहरुले पनि काम तीब्र पार्नु भएको छ । ‘उर्लाबारी रन २०७९’ लाई ऐतिहासिक बनाउने प्रयास हाम्रो हुनेछ ।
‘उर्लाबारी रन २०७९’ गर्नुको उद्देश्य चाँही ?
उर्लाबारी नगरपालिकालाई दौडको माध्यमबाट देशविदेशमा परिचित गराउने मुख्य उद्देश्य हो । बालबालिका, युवा तथा वयस्क सबैलाई समावेश गरी खेल, नियम र अनुशासनको पाठ सिकाउने पनि यसको लक्ष्य रहेको छ । ब्यायाम गर्ने अभ्यासबाट पछि हट्दै गएको अहिलेको युवा पुस्तालाई ब्यायाम सम्बन्धी सचेत गराउँदै नियमित ब्यायामले शरीरमा उर्जा थप्दै नयाँ सोचसहितको चेतना, आँट र साहसले भरिएको हक्की स्वभाव र परिवर्तनको संवाहकका रुपमा अघि बढाउन सहयोग पु¥याउँछ भन्ने हामीले विश्वास लिएका छौं । नियमित दौडले समाजका हरेक मानव (बालबालिका, युवायुवती, बयस्क तथा बृद्धबृद्धा) लाई स्वस्थ जीवनसँगै नैतिकवान, सत्चरित्रवान तथा आदर्शवान ब्यक्तिको रुपमा उभ्याउन सफल हुन्छ भन्ने मान्यताका साथ सबैलाई नियमित दौडका लागि प्रेरणा मिलोस् भन्ने हाम्रो अपेक्षा छ ।
उर्लाबारी रन २०७९ मा कतिको सहभागिता रहन्छ भन्ने अपेक्षा राख्नुभएको छ ?
हामीले अनलाइनमार्फत फारम भरिरहेका छौं । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जोकोहीले पनि उर्लाबारी रनमा भाग लिन सक्नुहुनेछ । धेरैले अनलाइन फारम भरिरहनुभएको छ । त्यसैकारण पनि देशैभरीबाट एक हजार भन्दा बढीले उर्लाबारी रनमा सहभागिता जनाउने अपेक्षा गरेका छौं ।
उर्लाबारी रन २०७९ मा कुन–कुन समूहले भाग लिन पाउँछन् त ?
हामीले यस पटक तीन समूहमा विभाजन गरेर उर्लाबारी रन आयोजना गर्दैछौं । १५ बर्ष मुनिका बालबालिका, १५ बर्षदेखि ४० बर्षसम्मको खुल्ला र ४० बर्षभन्दा माथीको भेट्रान समूहको उर्लाबारी रनमा सहभागिता रहने छ । तीन समूहमा महिला र पुरुषको छुटाछुट्टै प्रतिष्पर्धा हुनेछ ।
उर्लाबारी रन २०७९ का विजेताले के पुरस्कार पाउँछन् ?
१५ वर्षमुनिका बालक तथा बालिकातर्फ दुवैमा प्रथमले ५ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार, चौंथोले २ हजार र पाँचौँले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । बालबालिकाको तीन किलोमिटर दौड हुनेछ । त्यस्तै, १५ बर्षदेखि ४० बर्षसम्मको खुल्लातर्फ १० किलोमिटर रनको विजेताले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र चौंथोले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । खुल्ला समूहमा पुरुष र महिला दुबै समूहलाई बराबर राशी राखिएको छ । यो समूहमा १० किलोमिटर दौड हुनेछ ।
त्यसैगरी भेट्रानतर्फ प्रथम हुनेले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार र चौंथोले ३ हजार रुपैयाँ पाउने छन् । यो समूहमा पनि महिला र पुरुष दुबैलाई बराबरी पुरस्कार राखिएको छ । यस समूहमा पनि १० किलोमिटर दौड हुनेछ ।
उर्लाबारी रनका लागि रुट कसरी तय गर्नुभएको छ त ?
उर्लाबारी–६ सूर्यचौक स्थित संस्थाको कार्यालयबाट सुरु हुने १० किलोमिटर उर्लाबारी रन तरुण चौक, छाता चौक, आइतबारे, उर्लाबारी चौक, होलीचाइल्ड बोर्डिङ हुँदै सिमाना बस्तीबाट पुनः सूर्य चौकमा आएर समापन हुनेछ ।
कति खर्च हुने अनुमान गर्नु भएको छ । र, कहाँबाट रकम जुटाउनुहुन्छ ?
उर्लाबारी रन सम्पन्न गर्न ८ लाख ५० हजारभन्दा बढी रुपैयाँ खर्च अनुमान गरिएको छ । उर्लाबारी नगरपालिका र विभिन्न सहयोगीदाताको सहयोगमा उर्लाबारी रन भब्य र भब्य तरिकाले सम्पन्न गरिने छ ।
अन्त्यमा केही भन्नु छ की ?
विशेष गरी उर्लाबारी रन २०७९ को बारेमा केही कुरा राख्ने अवसर दिनुभएकोमा पूर्वी कमाण्ड अनलाइनलाई धन्यवाद प्रकट गर्दछु । साथै, उर्लाबारी रन उर्लाबारीको पहिचानको रुपमा स्थापित गराउन हामी लागि परेका छौं । सबैको साथ र सहयोगले यहाँसम्म आइपुगेका छौं । यस बर्षपनि सबैको साथ र सहयोगमा भब्य रुपमा उर्लाबारी रन हुनेमा आशावादी छु ।
–रमा खतिवडा