धनुषा–४ की २५ वर्षीया रुवीकुमारी ठाकुरको जीवनयात्रा कुनै योजनाबद्ध राजनीतिक करिअरको कथा होइन, बरु अवसर र विश्वासले बनाएको अप्रत्यासित मोड हो। केही महिनाअघि सम्म उनी एक साधारण युवती थिइन्—स्थानीय कन्सल्टेन्सीमा मासिक २० हजार रुपैयाँ कमाउँदै आफ्नो परिवारलाई सघाउँदै। तर आज उनी संसद्मा जनताको आवाज बन्ने जिम्मेवारी बोकेर उभिएकी छन्।

रुवीको राजनीतिक यात्रा सुरु भयो हर्क साम्पाङ सँगको एक भेटबाट। त्यसअघि उनी श्रम संस्कृति पार्टीसँग जोडिएकी थिइनन्। तर हर्कका विचार र कामले प्रभावित भएर उनी पार्टीमा सक्रिय भइन्। त्यसपछि उनी ‘माटो’ चिन्ह लिएर धनुषा–४ का गाउँ–गाउँमा मत माग्दै घरदैलो अभियानमा जुटिन्।

उनी भन्छिन्, “देशका लागि यस्तो मान्छे चाहिन्छ भन्ने लागेर समर्थक बनेँ। सांसद बन्नु त मेरो लागि सरप्राइज नै हो।” श्रम संस्कृति पार्टीमा आवद्ध भएपछि रुवीले आफ्नो समुदाय मात्र होइन, सिंगो क्षेत्रभर सक्रिय प्रचार गरिन्। उनले मनिष झा जस्ता स्थापित राजनीतिक व्यक्तित्व र उनका समर्थकसँग खुलेर प्रतिस्पर्धा गरिन्। सीमित स्रोत र अनुभव हुँदाहुँदै पनि उनको आत्मविश्वास र प्रतिबद्धताले उनलाई फरक बनायो।

पार्टीले उनलाई समानुपातिक सांसदका रूपमा चयन गरेपछि उनको जीवन नै बदलियो। धरानस्थित पार्टी मुख्यालयमा पहिलो पटक पुग्दा उनी उत्साहितसँगै अलिकति नर्भस पनि देखिइन्। “मैले सांसद हुन्छु भनेर कहिल्यै सोचेको थिइनँ। अचानक खबर आयो, अनि अध्यक्षलाई भेट्न दौडिएँ,” उनले सुनाइन्।

धनुषाको मझेलियाकी रुवी सामान्य कृषक परिवारबाट आएकी हुन्। एक कट्ठा जमिनमा बसोबास गर्ने उनको परिवार अर्काको जमिन बटैयामा खेती गरेर जीविका चलाउँछ। उनका बुबा सोगराथ ठाकुर वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् भने आमा रेणु ठाकुर गृहिणी हुन्।

चार बहिनी र दुई भाइबीच हुर्किएकी रुवीले सानैदेखि संघर्ष देखिन्। उनी भन्छिन्,“अब मेरो व्यक्तिगत समस्या भन्दा पनि जनताको समस्या बुझ्नु ठूलो जिम्मेवारी हो।”

स्थानीय विद्यालयबाट एसईई सकेपछि उनले बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा इन्जिनियरिङ अध्ययन गरिन्। टुडी र थ्रिडी प्रविधिबाट घरको नक्सा बनाउने सीप सिकेपछि उनले कन्सल्टेन्सीमा काम सुरु गरिन्। अब उनी सांसदको जिम्मेवारीसँगै ब्याचलर इन्जिनियरिङ (BE) अध्ययन गर्ने योजनामा छिन्।
“संसद् देशका लागि हो, इन्जिनियरिङ मेरो भविष्यका लागि,” उनी भन्छिन्। रुवीले संसद्मा उठाउने मुख्य मुद्दाहरू स्पष्ट छन्—मधेशमा जरा गाडेको दहेज प्रथा, बालविवाह र बढ्दो बेरोजगारी। उनका अनुसार,“कानुनले दहेजलाई प्रतिबन्ध लगाए पनि कार्यान्वयन कमजोर छ। महिलाहरू अझै पीडित छन्। यी विषयमा सशक्त रूपमा बोल्छु।”

जेन–जेड पुस्ताकी प्रतिनिधिका रूपमा संसद्मा पुगेकी रुवी आफ्नो पाँच वर्ष जनताका लागि समर्पित गर्ने बताउँछिन्। व्यक्तिगत जीवनबारे भने उनी स्पष्ट छिन्—अहिलेलाई विवाह होइन, जिम्मेवारी प्राथमिकता हो। “पहिले देश र जनताको काम गर्छु, त्यसपछि मात्रै व्यक्तिगत कुरा सोचौंला,” उनले दृढताका साथ भनिन्।

रुवीकुमारी ठाकुरको कथा नेपाली राजनीतिमा नयाँ पुस्ताको उदयको संकेत हो—जहाँ ठूलो पहुँच वा पुरानो शक्ति होइन, विश्वास, मेहनत र अवसरले पनि नेतृत्व जन्माउन सक्छ। साधारण पृष्ठभूमिबाट उठेर संसद्सम्म पुग्ने उनको यात्रा अब कत्तिको प्रभावकारी हुन्छ, त्यो भने समयले देखाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय