उर्लाबारी । मोरङ क्षेत्र नं. १ (क) का सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले शिक्षा क्षेत्रमा सुधारको खाँचो रहेको बताउनुभयो ।
आज उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको ५४ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षामा शिक्षक, अभिभावक सबै मिलेर सुधार ल्याउन सकिने बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धिका लागि सबै जुट्न आवश्यक रहेको उहाँको भनाई छ । उहाँले राधिका माबि सामुदायिक विद्यालयमध्येकै एक उत्कृष्ट भएको बताउनुभयो । विद्यालयको भौतिक विकासमा आफुले सक्ने सहयोग सदैब अग्रमोर्चामा रहेर गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन प्रस्तुत गरेका थिए भने सोही अवसरमा छात्रबृत्ति, विभिन्न कार्यक्रममा विजेतालाई पुरस्कार वितरण, सम्मान लगायत गरिएको थियो ।























