विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको निर्वाचनबाट राजेन्द्र राउतको प्यानलले सानदार जित हासिल गर्दै नेतृत्वमा आफ्नो पूर्ण बर्चस्व कायम गरेको छ । विराटनगरमा सम्पन्न महासंघको आठौं सभाबाट अध्यक्षमा राजेन्द्र राउत भारी मतान्तरका साथ राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

राउतले आफ्ना निकटतम प्रतिष्पर्धी नविन रिजालको समूहलाई निकै पछि पार्दै प्यानलैसहित विजय हासिल गरेका छन् । यो जितसँगै राउतले आठ वर्षअघि मोरङ व्यापार संघको कार्यकारिणी सदस्यको निर्वाचनमा व्यहोरेको हारको बदला समेत लिएका छन्, जहाँ तत्कालिन समयमा उनको टिम पराजित भएको थियो ।

निर्वाचनको अन्तिम परिणाम अनुसार अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा राउतले कूल १४२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नविन रिजालले ५८ मतमा चित्त बुझाउनु पर्यो । चुनावी अंकगणित अनुसार राउतले सबै विधामा रिजाललाई निकै ठूलो अन्तरले पराजित गरेका हुन् । जसमा राउतले एशोसिएट तर्फ १०७ मत ल्याउँदा रिजालले ३९ मत मात्र पाए भने जिल्ला नगर तर्फ राउतले २४ र रिजालले १३ मत प्राप्त गरे । त्यसैगरी वस्तुगत तर्फ राउतले ११ र रिजालले ६ मत मात्र जोड्न सकेका थिए । तीन वर्षअघि झापामा भएको निर्वाचनमा निर्विरोध निर्वाचित भएका राउतले यसपटक भने चुनावी मैदानमै उत्रिएर आफ्नो लोकप्रियता प्रमाणित गरेका छन् ।

राउतको नेतृत्वमा रहेको यो प्यानल कति बलियो थियो भन्ने कुरा अधिकांश पदाधिकारीहरु निर्विरोध चयन हुनुले पनि स्पष्ट पारेको छ । निर्वाचनमा जिल्ला नगरतर्फको उपाध्यक्षमा झापाका ऋषीराज तिम्सिना, वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनगरकै रविन दाहाल निर्विरोध निर्वाचित भए । त्यसैगरी कोषाध्यक्षमा विराटनगरका श्रवणकुमार अग्रवाल निर्विरोध चयन हुँदा एसोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि विना प्रतिष्पर्धा चुनिएका छन् । पदाधिकारी तहमा निर्विरोध चयन भएपछि सदस्य पदका लागि मात्रै मतदान भएको थियो ।

सदस्य पदमा समेत राउत प्यानलकै उम्मेदवारहरुको वर्चस्व रह्यो । खुल्ला सदस्यतर्फ जिल्ला नगरबाट कृष्णप्रसाद रिजाल, राजु ढुंगाना ‘राजीव’, जयप्रकाश शर्मा, हर्क बहादुर श्रेष्ठ र नविन कुमार चौधरी निर्वाचित भएका छन् । त्यस्तै, वस्तुगत तर्फको सदस्यमा सुवाश आचार्य र दिपक पाण्डेले विजय हासिल गरेका छन् । यी सबै निर्वाचित सदस्यहरु राजेन्द्र राउतको समूहबाट चुनावी मैदानमा उत्रिएका थिए, जसले गर्दा कार्यसमितिमा राउतको पूर्ण प्यानल नै स्थापित भएको छ ।

महासंघ कोशी प्रदेशको यो नयाँ नेतृत्व चयनका लागि कूल २०५ मतदाता सहभागी भएका थिए । जसमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएट सदस्यहरुबाट १४८ जनाले मतदान गरेका थिए । यो ऐतिहासिक जितसँगै राजेन्द्र राउतले आगामी तीन वर्षका लागि कोशी प्रदेशको निजी क्षेत्रको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय