काठमाडौं । सत्तारुढ गठबन्धन सिट बाँडफाँटबारे सहमति जुटाउन असफल भएका छन् । अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुंगो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने सहमति भएको छ ।
प्रतिनिधिसभाको १६५ सिट बाँडफाँटका लागि गठबन्धनमा रहेका दलहरु निरन्तर छलफलमा जुटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त र द्विपक्षीय छलफल भएको थियो । यद्यपि सिट बाँडफाँटमा निरन्तर छलफल भइरहेको छ । करिव १०० आसपासको सिटमा सहमति पनि जुटेको देखिन्छ । कार्यदलका एक सदस्यका अनुसार ६०/६५ सिटमा कांग्रेस, २०/२२ सिटमा माओवादी ८/९ मा एकीकृत समाजवादी ५/७ सिटमा जसपाको नाममा लगभग सहमति जुटेको छ । बाँकी क्षेत्रमा दुई वा दुईभन्दा बढी दलको दाबी छ । यस्ता क्षेत्रमा सहमति खोज्दा दलहरुबीच छुट्टा–छुट्टै छलफल भएपनि सहमति नजुटेको नेताहरु बताउँछन् । असोज २ र ३ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसूची बुझाउनुपर्ने भएकाले अब त्यतातिर छलफल गर्ने नेताहरु बताउँछन् । जसपाका प्रवक्ता मनिष सुमन भन्छन्, ‘अब केही दिन समानुपातिकतर्फ लाग्ने सहमति भएको छ । ३ गतेपछि मात्र गठबन्धनको बैठक बस्छ ।’























