उर्लाबारी । मोरङ क्षेत्र नं. १ (क) का सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले आफुले इमान्दारिताको साथ जनताको सेवक भएर काम गरेको बताउनुभयो ।
शनिबार मोरङको उर्लाबारीमा आयोजित रोटरी क्लबको पदस्थापन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । आफु दोस्रो पटक पनि प्रदेश सांसदको उम्मेद्वार बनेको उल्लेख गर्दै सांसद लिम्बूले आफ्नो कामको मूल्यांकन गरेर आम जनसमुदायले मतदान गर्ने बताउनुभयो ।
आफ्नो पहलमा प्रदेश सरकारले मोरङ क्षेत्र नं. १ (क) मा एक अर्ब भन्दा बढी लगानी भित्रिएको उहाँले दाबी गर्नुभयो । प्रदेश सरकारले मोरङ क्षेत्र नं.१ ‘क’ अन्तरगत पर्ने उर्लाबारी र मिक्लाजुङमा एक अरव २० करोड रुपैयाँ लगानी गरेको उहाँले जानकारी दिनुभयो । प्रदेश सभाको पाँच वर्षे अवधिमध्ये दुई वर्षको अन्तरालमा उक्त रकम यस स्थानमा लगानी भएको लिम्बूको भनाई छ । बहुबर्षिय सडक निर्माणअन्तर्गत ५८ करोड, पुल निर्माणका लागि सात करोड २५ लाख, मदन भण्डारी ट्रमा सेन्टर भवन निर्माण तथा व्यवस्थापनका लागि तीन करोड ६५ लाख, इलाका प्रहरी कार्यालय उर्लाबारीको भवन निर्माणका लागि दुई करोड १५ लाख, खानेपानी आयोजना निर्माणका लागि १० करोड, सिचाई निर्माणका लागि १० करोड, नदी तटबन्धका लागि ३० करोड, ५० किलो मिटर सडक ग्राभेलका लागि पाँच करोड र बेतिनी सिमसार विकासका लागि ३५ लाख रुपैयाँ प्रदेश सरकारले लगानी गरेको साँसद लिम्बूले बताउनुभयो ।
रोटरी क्लबका निवर्तमान अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा २०२२÷०२३ का लागि हेमचन्द्र भट्टराईको अध्यक्षतामा रहेको नयाँ समितिलाई रोटरी क्लव अफ उर्लाबारी र किशन अटलको अध्यक्षतामा रहेको रोट्रयाक क्लब अफ उर्लाबारीलाई पदस्थापन गरी सपथ खुवाइएको थियो । रोटरी क्लब अफ उर्लाबारीका सचिव घनश्याम भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा विनोद न्यौपाने, राजेश महेश्वरीलगायतले बोल्नुभएको थियो ।























