उर्लाबारी । मोरङको उर्लाबारी–१ प्रगतिशिल सामुदायिक वन उपभोक्ता समूहले वनभोज स्थल निर्माण गरेको छ ।
वन क्षेत्रभित्र फैलिएको सिमसार क्षेत्रको विकास गर्दै पर्यटकीय स्थल बनाउन उपभोक्ता समिति लागि परेको हो । सोही क्रममा मोरङ क्षेत्र नं. १ (क) का तत्कालिन प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) को निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजन भएको ५ लाख रुपैयाँले वनभोज स्थल निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष सविन खड्काले जानकारी दिनुभयो । आज वनभोज स्थलको निवर्तमान प्रदेश सांसद लिम्बूले उद्घाटन गर्दै थप पर्यटकीय क्षेत्र विकासका लागि आगामी दिनमा पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उपभोक्ता समितिबाट १ लाख रुपैया थप गरी ६ लाख रुपैयाँ बजेटमा वनभोजका लागि स्थल निर्माण गरिएको छ । सुन्दर र एकान्त वातावरण भएकाले वनभोज खानेहरुको रोजाई बन्नेमा स्थानीय अगुवा भूपाल श्रेष्ठले बताउनुभयो । उहाँले स्थानीय तहले वन विकास तथा पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा सहयोग नगरेको बताउनुभयो । कार्यक्रममा बेनिती सामुदायिक वन उपभोक्ता समूहका सदस्य मिलन दाहाल, सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष घनश्याम भण्डारीलगायतले बोल्नुभएको थियो । समूहका कोषाध्यक्ष हरि कटुवालले सञ्चालन गरेको कार्यक्रममा सह–सचिब तारिलाल धिमालले औचित्व बारेमा प्रष्ट पार्नुभएको थियो ।























