उर्लाबारी । चाडपर्वसँगै बजारमा म्याद नाघेका खाद्य सामग्री विक्री वितरण भइरहेको ब्यापक गुनासो भएपछि उर्लाबारी नगरपालिकाले बजार अनुगमन थाल्यो । बिहीबार मंगलबारे बजार अनुगमनको गरेको टोलीले केही म्याद नाघेका खाद्य सामग्रीलगायत फेला पारेको थियो ।

थोरै परिमाणमा मंगलबारे बजार क्षेत्रमा सामग्री फेला पारेपछि सचेत मात्र गरायो । शुक्रबार दुर्गापुरी बजार अनुगमनमा निस्केको टोलीले एउटा पसलमा अनुगमन गरेर फर्कियो । शुक्रबार दुर्गापुरीमा अधिकांश पसल बन्द भेटिए । अनुगमन टोली आउने खबर पाएपछि अधिकांश पसल बन्द भएको हुन सक्ने टोलीका एक सदस्यले बताउनुभयो । दुर्गापुरी, आम्बारीलगायत बजार क्षेत्रमा पुनः अनुगमन गर्ने जनाइएको छ । दुर्गापुरीमा बजार बन्द भएपछि टोली उर्लाबारी–७ को चिउरामिल चौकमा आइपुग्यो । त्यहाँ रहेको मनिषा किराना पसलमा पुग्दा साबुन, भुजिया, रसबरीलगायत म्याद नाघेका खाद्य सामग्री अनुगमन टोलीले फेला पारेको छ । अनुगमन टोलीका कमाण्डर उर्लाबारी नगरपालिकाका अधिकृत मुरारी घिमिरेले म्याद नाघेका खाद्य सामग्री जफत गर्न निर्देशन दिनुभयो । सोही अनुसार ती सामग्री जफतसहित एक साताभित्र अनुगमन गर्दा म्याद नाघेका खाद्य सामग्री भेटिए कार्वाही गर्ने चेतावनी पनि दिनुभयो ।

उक्त टोलीले बरगाछीमा रहेको बेदु किराना पसलमा अनुगमन ग¥यो । त्यहाँ पनि रसबरी, क्याटवरीलगायत म्याद नाघेका खाद्य सामग्री फेला पारेको थियो । त्यस्तै, बरगाछीमै रहेको थापा स्टोरमा भने अनुगमन टोलीले केही फेला पारेनन् । उक्त पसलमा मूल्यसूचीसहित मापदण्डअनुसार पसल सञ्चालन गरेको पाइएको अनुगमन टोलीका एक सदस्यले बताउनुभयो । अनुगमनका क्रममा कतिपय पसलमा म्याद नाघेका खाद्यलगायत सामग्री भेटिएपछि अनुगमन टोलीले जफत गरेको छ । नगरपालिकाका अधिकृत घिमिरेको नेतृत्वमा इलाका प्रशासन कार्यालय उर्लाबारीका अधिकृत किशोर आचार्य, नगरपालिकाका अधिकृत भरत अधिकारी, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र भट्टराई, उर्लाबारी उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला चौहान, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, नगर प्रहरी प्रमुख यामबहादुर कार्कीलगायतको अनुगमन टोलीले बजार अनुगमन गरिरहेको छ ।

उपभोग्य मिति सकिएका सामग्री बिक्री वितरण गर्न नहुने, सामानहरुको मूल्य सुची सबैले देख्ने ठाउँमा राख्न, आफ्नो व्यापार, व्यवसायको साइनबोर्ड अनिवार्य राख्नु पर्ने, व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने, दर्ता भएका व्यवसायहरु तोकिएको समयभित्र नवीकरण गर्नुपर्ने, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करामा अनिवार्य दर्ता भएको हुनुपर्नेलगायत सूचना प्रकाशन प्रशारण गरेपनि कतिपय व्यापारीले अटेर गरेको पाइएको छ । पहिलो चरणमा सामग्री जफतसहित सचेत गराएको र दोस्रो चरणमा पनि त्यस्तो भेटिए जरिवाना तथा कार्वाही गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय