उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नी अधिकारीले सरकारी गाडीको चरम दुरुपयोग गर्नुभएको छ ।
सरकारी कामकाज गर्नका लागि मात्र कर्मचारीलाई प्रदान गरिएको सरकारी गाडी प्रमुख प्रशासकिय अधिकृत अधिकारीले दशैं मनाउनका लागि काठमाडौं घर जाने क्रममा सरकारी लिएर गएको खुलेको हो ।
प्रमुख प्रशासकिय अधिकृत अधिकारीलाई काठमाडौं छोडेर नगरपालिकाको को १ झ ५७० नम्बरको गाडी आज साँझ ८ः३० बजे फर्किसकेको छ । ‘काठमाडौं बालकोटमा नवनिर्मित घरमा यस पटकको दशैं मनाउन नगरपालिकाको गाडी लिएर प्रमुख प्रशासकिय अधिकृत अधिकारी जानुभएको थियो’ जानकार स्रोतले भन्यो–‘प्रमुख प्रशासकिय अधिकृतलाई पु¥याएर गाडी फर्किसकेको छ ।’ प्रमुख प्रशासकिय अधिकृत अधिकारी बिहीबार विहानै काठमाडौंतर्फ सरकारी गाडीमा लागेको नगरपालिकाका एक जनप्रतिनिधीले नाम नबताउने सर्तमा जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाका मेयर गंगा खरेलले नगरपालिकामा दायाँबायाँ गर्ने जोसुकैलाई कार्वाहीको दायरामा ल्याउने सार्वजनिक कार्यक्रमहरुमा बताइरहँदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अधिकारीले सरकारी गाडी चरम दुरुपयोग गरेको विषयमा कस्तो ‘एक्सन’ हुने हो भन्ने बिषय चासोका साथ हेरिएको छ ।
यस विषयमा उर्लाबारी नगरपालिकाका मेयर खरेलसँग सम्पर्क गर्दा उहाँले प्रमुख प्रशासकिय अधिकृत अधिकारीले गाडी लगेको विषयमा थाहा नभएको बताउनुभयो । ‘प्रमुख प्रशासकिय अधिकृतले गाडी लैजानु भएको बिषयमा मलाई थाहा छैन’ मेयर खरेलले फोन सम्पर्कमा भन्नुभयो । प्रमुख प्रशासकिय अधिकृत अधिकारीको गाडीका चालक इन्द्र आपागाईलाई यस बारेमा बुझ्दा उहाँले गाडी बिग्रेका कारण दुई दिन विराटनगरमा मर्मत गरेर फर्किएको प्रतिकृया दिनुभयो । यस विषयमा प्रमुख प्रशासकिय अधिकृत अधिकारीलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । जानकार स्रोत भने प्रमुख प्रशासकिय अधिकृत अधिकारी नगरपालिकाको गाडीमा आफन्तसहित काठमाडौं पुग्नु भएको छ । सरकारी गाडीको चरम दुरुपयोग रोक्न उर्लाबारी नगरपालिकाका जनप्रतिनिधिहरुले ध्यान दिनु पर्ने सरोकारवालाहरु बताउँछन् ।























