उर्लाबारी । २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य पदको उम्मेद्वार बन्ने दौडमा हुनुहुन्थ्यो, रुपेश खतिवडा र डिल्ली शर्मा अधिकारी । मोरङ क्षेत्र नं. १ (क) गठबन्धन हुँदा नेकपा माओवादी केन्द्रको भागमा परेपछि खतिवडा उम्मेद्वार बन्नबाट रोकिनुभयो । यस पटक पनि खतिवडा प्रदेशसभा सदस्यको उम्मेद्वार बन्ने दौडमा हुनुहुन्थ्यो । तर, यस पटक पनि उहाँले टिकट पाउनु भएन । प्रतिनिधिसभा सदस्यमा निवर्तमान सांसद घनश्याम खतिवडा भएपछि प्रदेशमा पनि अर्का खतिवडा उम्मेद्वार बनाउन पार्टीले चाहेन । र, फेरि पनि खतिवडाको नाम काटियो । दोस्रो पटक पनि खतिवडा टिकटमा ‘अभागी’ बन्नुभयो । खतिवडा पार्टीको मोरङ जिल्ला सचिब हुनुहुन्छ ।
टिकटमा खतिवडा जस्तै ‘अभागी’ बन्ने अर्का ब्यक्ति डिल्लीराम शर्मा अधिकारी हुनुहुन्छ । २०७४ मा मोरङ क्षेत्र नं. १ (ख) मा उहाँले टिकट पाउनु भएन । यस पटक पनि टिकटको दौडमा रहनुभएका अधिकारी दोस्रो पटक पनि ‘अभागी’ बन्नुभएको छ । अधिकारी पार्टीको प्रदेश नं. १ कमिटी सदस्य हुनुहुन्छ ।
मोरङ क्षेत्र नं. १ (क) मा उमाकान्त गौतम र मोरङ क्षेत्र नं. १ (ख) मा एमालेको तर्फबाट खड्ग बस्नेत उम्मेद्वार बन्ने पक्का भएको जानकार स्रोतले बताएको छ । संघमा भने तेस्रो पटक घनश्याम खतिवडा उम्मेद्वार बन्दै हुनुहुन्छ । २०७४ सालमा निर्वाचन जित्नु भएका खतिवडाको कांग्रेसका डिगबहादुर लिम्बूसँग तेस्रो प्रतिष्पर्धा पनि हो । एक पटक लिम्बू र एक पटक खतिवडाले बाजी मार्नुभएको छ भने यस पटक कसले बाजी मार्ला भन्ने विषय चासोका साथ हेरिएको छ ।























