उर्लाबारी । मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसबाट डिगबहादुर लिम्बू र एमालेबाट घनश्याम खतिवडा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । उहाँले २०७४ सालको निर्वाचनमा गरेका प्रतिबद्धता कति पुरा गर्नुभयो । २०७४ सालमा खतिवडाले बाजी मार्नुभएको थियो ।
दुबै जनाको प्रतिबद्धता संक्षेपमा यस्ता छन्
तमोरको पानी मोरङको चिसाङ खोलामा झार्छु
घनश्याम खतिवडा, एमाले (क्षेत्र नम्बर १)
मोरङको क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट सर्वसम्मत उम्मेदवार बनेका एमाले नेता घनश्याम खतिवडाले विकास निर्माणका योजनालाई प्राथमिकता दिने बताएका छन् ।
बाढी नियन्त्रणलाई उनले प्राथमिकतामा राखेका छन् भने दीर्घकालीन महात्वाकांक्षी योजनामा तमोर डाइभर्सनलाई चिसाङ खोलामा मिसाएर पूर्वी मोरङको खेतीयोग्य जग्गामा सिंचाई सुविधा उपलब्ध गराउने उनले बताएका छन् ।
एमाले नेता घनश्याम खतिवडाले तमोर डाइभर्सनलाई चिसाङ खोलामा मिसाएर पूर्वी मोरङमा सिंचाई सुविधा उपलब्ध गराउने बताएका छन्
कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुसँग प्रतिस्पर्धामा रहेका खतिवडाले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मासात गर्दै विभिन्न जनआन्दोलनका उपलब्धीलाई संस्थागत गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
दोस्रो संविधानसभा चुनावमा डिगबहादुरसँगै प्रतिस्पर्धा गरेर पराजित भएका खतिवडा यसपालि पुनः पुरानै प्रतिस्पर्धीसँग चुनाव लड्दैछन् । उनले आफ्नो चुनावी एजेण्डा सडक पूर्वाधारमा केन्द्रित गरेका छन् ।
खतिवडाले किसानचोक-टाँडी-रमितेखोला सडकलाई पीच गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसैगरी लेटाङदेखि ६ नं बुधबारे सडक, याङशिला-ओख्रे सडक लगायत सुनसरीको धरानबाट उत्तरी मोरङ जोड्ने सडकहरुको स्तरोन्नति र पीच गरिने प्रतिवद्धता खतिवडाले जनाएका छन् ।
सडकसँगै विद्युत विस्तार गर्दै नागरिकको उज्यालोमा बस्न पाउने अधिकारलाई कार्यान्वयन गर्ने खतिवडाको भनाइ छ । उनले पर्यटकीय सम्भावना बोकेको क्षेत्र नम्बर १ अन्तरगत उत्तरी मोरङमा जनताको मागअनुसार सबै क्षेत्रको विकासलाई बराबर प्राथमिकता दिने बताए । प्राकृतिक सम्पदाको सदुपयोगबाट क्षेत्र नम्बर १ को विकासको मेरुदण्ड तयार पार्ने उनको भनाइ छ ।
खदम, लोहन्द्रा, चिसाङ, तेली, मावा, बक्राहा लगायतका प्रमुख नदीहरुको श्रोत परिचालन गरी बाढी नियन्त्रण खतिवडाको मुख्य प्राथमिकतामा परेको छ । माओवादीसँग गठबन्धन गरेर चुनावमा होमिएका एमाले नेता खतिवडाले उत्तरी मोरङमा सुपारी खेतीको प्रोत्साहनका लागि विशेष आयोजना सञ्चालन गर्ने बताए ।
साथै शिक्षा, स्वास्थ्य, रोजगारीलाई आधारभूत अधिकारका रुपमा स्थापित गराउने, बाढीपीडित तथा भूमिहीनहरुका लागि व्यवस्थित बसोबासको प्रबन्ध गर्ने प्रतिवद्धता जनाए ।
बिराटनगरलाई तार रहित बनाउँछु, सुकुम्बासीलाई पूर्जा दिन्छु
डिगबहादुर लिम्बु, कांग्रेस (क्षेत्र नम्बर १)
दोस्रो संविधानसभामा साविकको क्षेत्र नम्बर ९ बाट घनश्याम खतिवडा र वर्षमान पुनलाई पराजित गरेर सभासद बनेका डिगबहादुर लिम्बु अहिले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् । उनले पनि आफ्ना प्रतिस्पर्धी खतिवडाले जस्तै विकासकै मुद्दालाई प्राथमिकतामा राखेका छन् ।
मोरङको सदरमुकाम बिराटनगरलाई ताररहित बनाउने गरी कार्ययोजना तयार पारेको कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बुले बताए
मोरङ कांग्रेसका सभापतिसमेत रहेका लिम्बु सडकको स्तरोन्नति, पुल निर्माण, बाढी नियन्त्रण र स्वरोजगारका योजना लिएर प्रचार प्रसारमा जुटेका छन् ।
मोरङको सदरमुकाम बिराटनगरलाई ताररहित बनाउने गरी कार्ययोजना तयार पारेको कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बुले बताए । विराटनगरको अनुहार उज्यालो भए समग्र मोरङ जिल्ला उज्यालो हुने बताउँदै उनले विशेष आर्थिक क्षेत्र निर्माण गर्न पहल गर्ने बताए ।
आफू उठेको १ नम्बर क्षेत्र भौगोलिक हिसावले ठूलो र विकट क्षेत्र रहेको उनले बताए । केराबारी, लेटाङ र मधुमल्लादेखि माथि पहाडी क्षेत्र विकट भएकाले त्यस क्षेत्रमा पुल, बाटो, सिँचाई बिजुली ल्याउने योजना रहेको उनले बताए ।
राजनीतिक अस्थिरताका कारण गत निर्वाचनमा प्रतिवद्धता गरेका बाचाहरु पूरा गर्न नसकेको बताउँदै उनले पुराना योजनाको कार्यान्यनका लागि फेरि उम्मेदवार बनेको बताए ।
मावा, बक्राहा, मोरङ, र चिसाङ खोलामा पुल निर्माणको काम अघि बढेकाले चाँडै निर्माण गर्ने लिम्बुको एजेण्डा छ । सिन्धुली-चतरा हुँदै आउने मध्यपहाडी लोकमार्गलाई लक्षित गरेर पुल निर्माण थालिएको उनको भनाइ छ ।
केरावारीको खदम खोला, टाडी-किसानचोक-बुधवारे सडक खण्ड र भलुवा खोलामा पक्का पुल निर्माण गर्ने उनले बताए । जाँते सडकको स्तरोन्नतिका साथै सुकुम्बासीको समस्या सामधान गर्ने योजना रहेको लिम्बुले बताए ।
टाँडीको दुई हजार विगाहामा ३८ बर्षदेखि सुकुम्बासी रहेकाले उनीहरुसहित अन्य क्षेत्रका सकुम्बासीलाई जग्गा प्रमाणपत्र प्रदान गर्ने एजेण्डा रहेको उनले सुनाए । बक्राहा खोलामा बाँध निर्माण गर्ने योजना रहेको सुनाए । सडक कालोपत्रेसँगै जडीबुटी, पशुपालन र पर्यटन क्षेत्रको विकास गर्ने लिम्बुको योजना छ ।























