काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहानदेखि बसेको सत्ता गठबन्धनको बैठक साँझ अबेर सकिएको छ। शनिबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग बैठक बसेर सहमतिलाई अन्तिम रूप दिने कांग्रेसका एक नेताले बताए।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएपछि सत्ता गठबन्धनले अर्को मधेसवादी दल लोसपासँग मिलेर चुनाव लड्न शुक्रबारदेखि नै छलफल अघि बढाएको थियो। ‘लोसपालाई पनि मिलाएर सिट बाँडफाँट गर्ने लगभग सहमति जुटिसकेको छ। भोलि बिहान करिब एक घन्टा बसेर यसलाई अन्तिम रूप दिनेछौं,’ ती नेताले भने।

उनका अनुसार कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच निर्वाचन क्षेत्रको विभाजन पनि टुंगिएको छ। यो सहमतिअनुसार कांग्रेसले ८८ सिट लिने, माओवादीले ४७, एकीकृत समाजवादीले १८ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने छन्। लोसपाले १५ सिटमा आफ्नो दाबी गरे पनि उसलाई १० सिट छुट्याउन सत्ता गठबन्धनका तीन प्रमुख दल तयार भएका छन्। ‘पहिले जसपालाई दिन तयार पारिएका १५ सिटमध्ये १० सिट लोसपालाई दिने र बाँकी पाँचमध्ये तीन कांग्रेस र दुई माओवादीले लिने सहमति भएको छ,’ ती नेताले भने।  शुक्रबार भएको बैठकमा लोसपाले प्रतिनिधिसभाका लागि १० र प्रदेशसभामा २१ सिट चाहिन्छ भनेको छ। यही वरिपरि रहेर लोसपालाई १० सिट दिनेबारे छलफल भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय