काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि सत्ता गठबन्धनमा प्रवेश गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई प्रतिनिधिसभामा सात सिट र एक सिटमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी सहमति भएको छ।

प्रदेशसभामा लोसपालाई १६ वटा सिट दिने र त्यसमध्ये रूपन्देही जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) लोसपालाई दिने सहमति भएको छ।

शनिबार बिहानदेखि बेलुकीसम्म प्रधानमन्त्री निवास बालुवाटारमा चलेको छलफलबाट यस्तो सहमति भएको हो। सहमतिपत्रमा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्त ठाकुरले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार लोसपालाई दिइएका सात सिटमा सप्तरी-२, बारा-३, पर्सा-१, धनुषा-३, महोत्तरी-२ र ३ र सर्लाही १ छन्। यसबाहेक सर्लाही-२ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिमा छ। यो क्षेत्र सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रको भागमा परेको छ।

त्यस्तै, मधेस प्रदेशसभामा लोसपालाई दिन सहमति गरिएका सिटमा सप्तरी २ (क), सिरहा ४ (ख), धनुषा १ (ख), धनुषा २ (क), रौतहट २ (क), बारा २ (क), बारा ४ (ख), महोत्तरी १ (क), महोत्तरी २ (क), महोत्तरी ३ (क) र (ख), महोत्तरी ४ (क), सर्लाही १ (क), सर्लाही २ (ख) र सर्लाही ४ (ख) छन्।

गठबन्धनमा कांग्रेसले ९०, माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले १९ र राष्ट्रिय जनमोर्चाले २ सिटमा लड्ने भएका छन्।

सत्ता गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपा गठबन्धनमा सहभागी भएको हो। शनिबारको छलफलमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू शरतसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाल लगायत सहभागी छन्। उता जसपाले नेकपा एमालेसँग १४ जिल्लामा चुनावी तालमेल गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय