विराटनगर । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव बर्खास्तीमा पर्ने भएका छन् ।

नेकपा एमालेसँग गठबन्धन गरेर चुनावी अभियानमा होमिएको जनता समाजवादी पार्टीका मन्त्रीलाई बर्खास्त गर्ने सत्ता गठबन्धनको तयारीसँगै यादवको पद गुम्ने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा रहेका जसपाका चार मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । त्यसबारे सत्ता गठबन्धनको आज बालुवाटारमा बसेको बैठकमा सहमति भइसकेको छ । गठबन्धनमा संघीय र सबै प्रदेशमा हरेका जसपाका मन्त्री बर्खास्त गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले संघीय मन्त्रीलाई बर्खास्त गरेलगत्तै प्रदेश १ सरकारका मन्त्री यादवलाई पनि बर्खास्त गरिने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । यादव २०७८ कार्तिक १६ गते बनेको राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा सोही दिन सामाजिक विकास मन्त्री नियुक्त भएका थिए ।

मन्त्री यादवले केन्द्रले गरेको कुरामा आफू जानकार नभएको बताएका छन् । ‘केन्द्रमा कसरी के भइरहेको छ मलाई अहिलेसम्म जानकारी छैन,’ उनले भने ।

उनी मोरङ क्षेत्र नम्बर ५ (ख)बाट ०७४ सालको निर्वाचनमा विजयी भएका थिए । आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि पनि सोही क्षेत्रबाट नेकपा एमालेको समर्थनमा उम्मेद्वार बनेका छन् ।

मन्त्रिपरिषद् पुनःगठन भएसँगै उनी पुनः २०७८ माघ २३ गते स्वास्थ्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय