उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू प्रतिनिधिसभा सदस्य उम्मेद्वार बन्नुभएको छ ।
२०७० सालमा लिम्बू संविधानसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ संविधानसभा सदस्य हुँदा देशले नयाँ संविधान पाएको थियो ।
लिम्बू २०३९ सालदेखि शिक्षण पेसामा लाग्नुभएको थियो । लेटाङ नगरपालिका– ४ गुवाबारीका बासिन्दा सभापति लिम्बू शान्ति भगवती माध्यमिक विद्यालयमा कार्यरत रहनुभएको थियो । २०४२ सालबाट पार्टीमा जोडिनुभएका डिगबहादुर शिक्षकको स्थायी जागिर छाडेर २०५१ मा राजनीतिमा आउनुभयो । र, कांग्रेसबाट टिकट पनि पाउनुभयो । सो बेला चुनाव हारेपछि लिम्बू थप दुई वर्ष शिक्षण पेसामा आबद्ध रहनुभयो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसले डिगबहादुरलाई मोरङ–९ (हाल १) मा उम्मेदवार बनायो । दुबैलाई हराएर माओवादीका नगेन्द्र धिमाल संविधानसभा सदस्य चुनिनुभयो । २०७० सालमा कांग्रेसले डिगबहादुरलाई टिकट दियो भने एमालेले घनश्याम खतिवडालाई सारेपछि ०५१ का प्रतिस्पर्धी आमनेसामना हुनुभयो । डिगबहादुर लिम्बू १५ हजार २०२ मतसहित विजयी हुँदा घनश्याम १२ हजार ९८९ मतका साथ दोस्रो स्थानमा रहनुभएको थियो ।
२०७२ मा संविधान जारी भएपछि मोरङका ९ वटा क्षेत्र ६ वटामा सीमित भयो । खतिवडा र लिम्बुको क्षेत्र नम्बर १ बन्यो । २०७४ सालको निर्वाचनमा दुवै जना उम्मेदवार बन्नुभयो । वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका घनश्याम ३७ हजार ५२४ मतसहित विजयी हुँदा डिगबहादुरले ३१ हजार ४३६ मत मात्र पाउनुभयो । यो पटक कांग्रेसबाट डिगबहादुर र एमालेबाट घनश्याम नै फेरि चुनावी मैदानमा हुनुहुन्छ । अघिल्लो पटक घनश्यामलाई सघाएको माओवादी केन्द्र र एमालेबाट छुट्टिएको एकीकृत समाजवादीले यो पटक डिगबहादुरलाई समर्थन गरेको छ । एमालेले भने जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको छ ।
सडक पूर्वाधार, नदी नियन्त्रणसँगै जनताको जनजिविकालाई सहज बनाउन आफू उम्मेदवार भएको उहाँको दाबी छ । सभापति लिम्बूले यस पटक प्रतिनिधिसभापछि संसदीय राजनीतिबाट विश्राम लिने सोचाई बनाउनुभएको छ । संसदीय राजनीतिबाट विश्राम लिएर पार्टी राजनीतिमा भने केही बर्ष सक्रिय रहने उहाँको सोचाई छ । २०७० सालमा संविधान निर्माणका लागि पठाउनुभएको जिम्मेवारी इमान्दारिताको साथ पूरा गरेको उल्लेख गर्दै उहाँले यस पटक मोरङ क्षेत्र नं. १ को विकास र समृद्धिका लागि उम्मेद्वारी रहेकोे प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय