उर्लाबारी । मोरङ क्षेत्र नं. १ (२) को प्रदेशसभा सदस्यमा १ नम्बर प्रदेशका यातायात तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरे उम्मेद्वार बन्नुभएको छ । घिमिरे बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बन्नुभएको हो भने नेकपा एमालेबाट खड्ग बस्नेत उम्मेद्वार बन्नुभएको छ । राप्रपाबाट सन्तोष कार्की उम्मेद्वार बन्नुभएको छ भने स्वतन्त्र उम्मेद्वारी दिनुभएका एमाले नेता डिल्लीराम अधिकारीले उम्मेद्वारी फिर्ता लिनुभएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कृष्णकुमार लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका ओमनाथ लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका टंकबहादुर गुरुङ तथा स्वतन्त्र दिपक राईको उम्मेद्वारी रहेको छ ।
नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्यसमेत रहनुभएका मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता घिमिरेलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा पनि हेरिएको छ । जसका कारण पनि यस पटक घिमिरेको पक्षमा माहोल देखिन्छ । एमालेका पनि प्रदेश सदस्य खड्ग बस्नेत अनुभबी मानिनुहुन्छ । उहाँ पनि बलियो उम्मेद्वार मानिन्छ । त्यस्तै, यसअघिको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष जितेका सन्तोष कार्की कांग्रेस छोडेर राप्रपाबाट प्रदेशसभा सदस्यको उम्मेद्वार बन्नुभएको छ । जसका कारण पनि कार्कीको सम्भावना रहेको बताइन्छ । घिमिरे, बस्नेत र कार्कीबीच नै मुख्य प्रतिष्पर्धा हुने अड्कल काटिएको छ ।























