मोरङका १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि १४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमध्ये सत्ता गठबन्धनबाट काँग्रेसका डिगबहादुर लिम्बू र एमाले गठबन्धनबाट नेता घनश्याम खतिवडाको मुख्य प्रतिस्पर्धा हुने भएको छ । यस्तै सो क्षेत्रबाट ५ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
लिम्बू र खतिवडा बाहेक सो क्षेत्रमा राप्रपाबाट होमनाथ गौतम, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी प्रसाद कवा, हाम्रो नेपाली पार्टीका राजेन्द्र प्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट सुरज लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट हर्कमान सम्वाहाम्फे, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमलबहादुर श्रेष्ठ रहेका छन् । उक्त क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमाले ३२ हजार ३६६, कांग्रेस ३१ हजार ४१३, माओवादी ६ हजार ५८३, राप्रपा २ हजार ८९०, एकीकृत समाजवादी १ हजार ९३ र जसपाको ४९४ मत छ । यो नतिजा अनुसार मोरङ १ मा सत्ता गठबन्धन बलियो अवस्थामा देखिन्छ ।























