उर्लाबारी । दिगो विकास र समृद्धिका लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विजयी गराउन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. १ (१) कुलप्रसाद साम्बा लिम्बू (कुशल) अपिल गर्नुभएको छ ।
प्रेस सेन्टर नेपाल पूर्वी मोरङ शाखाको आजको बैठकमा बोल्दै उहाँले आमूल परिवर्तनका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वारहरुलाई विजयी गराउन मतदाताहरुलाई अपिल गर्नुभएको हो । ‘कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मात्रै उम्मेद्वार होइन यो वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार हुन्’ उहाँले भन्नुभयो–‘विकास र समृद्धि चाहने सबै एक ठाउँमा उभिनु पर्छ ।’ इमान्दारिताका साथ गठबन्धन अघि बढाउन सबै नेता तथा कार्यकर्ता एकै ठाउँमा उभिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै, माओवादी केन्द्र प्रदेश नं. १ का सचिब तथा मोरङ क्षेत्र नं. २(१) प्रदेशसभा सदस्य उम्मेद्वार गणेश उप्रेती ‘सुशिल’, केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेद्वार विशेन्द्र चेम्जोङ, मोरङ सह–इन्चार्ज प्रेम मिभक, प्रेस सेन्टरका केन्द्रीय सदस्य भक्तशेर लिम्बू, मोरङ अध्यक्ष अर्जुन आचार्यलगायतले बोल्दै विकास र समृद्धिको लागि गठबन्धनका उम्मेद्वारहरुलाई जिताउनु पर्ने जनताले बुझिसकेको बताउनुभयो । पूर्वी शाखाका अध्यक्ष सरोज बस्नेतको अध्यक्षता तथा सचिब सन्दिप राईको सञ्चालनमा भएको उक्त बैठकले गठबन्धनका उम्मेद्वार जिताउन प्रचारप्रसारमा खटिने निर्णय गरेको छ । प्रेस सेन्टरका केन्द्र, प्रदेश र जिल्लाका प्रतिनिधिहरुको सहभागितामा भएको बैठकले मोरङ क्षेत्र नं. १ को प्रचार संयोजकमा सरोज बस्नेत र २ नम्बरमा पुजन दासलाई तोकेको छ । अन्य क्षेत्रमा जिल्ला समन्वय समिति र विराटनगर शाखा कमिटीको बैठकले जिम्मेवारी तोकिसकेको छ । सोही बैठकले पूर्वी मोरङको उर्लाबारीमा न्यूज डेक्स खडा गर्ने निर्णय गरेको छ ।























