केराबारी । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश र संघको निर्वाचनमा कार्यकर्ताहरुलाई हात नकमाई भोट हाल्न नेताहरुले आग्रह गरेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनको बुधबार केराबारीमा सम्पन्न संयुक्त संघ र प्रदेशका उमेद्धार परिचय तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अधिकांश नेताहरुले गठबन्धनका उमेद्धारलाई जिताउन ढुक्कका साथ मतदाताहरु समक्ष सर्कुलर गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोले मोरङ १ को बिकास कांग्रेससहितको गठबन्धनले मात्र गर्न सक्ने बताउनुभयो । उहाँले सबै कार्यकर्तालाई निर्वाचन कार्यक्रममा सहभागी हुन निर्देशन समेत दिनुभयो । कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बुले गठबन्धनका उम्मेद्वारले जनताको भावना बोक्ने भएकाले जिताउन अनुरोध गर्नुभयो । बिकास र समृद्धि कांग्रेससहितको गठबन्धनको एजेन्डा भएकोले यसलाई पूरा गर्नका लागि प्रतिनिधिसभामा रुख चिन्ह, प्रदेशसभा सदस्य मोरङ क्षेत्र नं.१ (१) मा गोलाकारभित्रको हसिँया हँथौडा चिन्ह र प्रदेशसभा सदस्य मोरङ क्षेत्र नं.१ (२) मा कलम चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
प्रदेशसभा सदस्य मोरङ क्षेत्र नं. १ (२) उम्मेद्बार तथा प्रदेश नं. १ का यातायात ब्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले सत्तामा हुँदा समेत प्रतिपक्षको भूमिकासहित आफुले आफ्नो क्षेत्रको विकासका लागि काम गरेको प्रष्टयाउनुभयो । डिगबहादुर लिम्बू र आफुलाई एकै ठाउँमा भोट हाल्न पाउने क्षेत्र बासीको ईच्छा यसपाली पूरा भएको उहाँको भनाई छ । आफूहरु स्कुल देखिकै साथी भएको र जीवन भर राजनितिक सारथीको रुपमा काम गर्ने उहाँले बताउनुभयो । प्रदेशसभा सदस्य मोरङ क्षेत्र नं. १ (१) का उम्मेद्बार कुलप्रसाद साम्बा (कुशल)ले संबिधानको खिल्ली उडाएर जनभावना बिपरित काम गरेकाले हालको गठबन्धन गर्नु परेको बताउनुभयो । गठबन्धनलाई भोट दिन उहाँले मोरङ क्षेत्र नं. १ का मतदाताहरुलाई अपिल गर्नुभयो ।
नेपाली कांग्रेसका नेता तथा स्थानीय तह निर्वाचन २०७९ मा केराबारी गाउँपालिका अध्यक्षमा उम्मेद्धारी दिनुभएका रोहितबहादुर कार्कीले यो गठबन्धन स्थानीय तहको जस्तो नभएर अलि फरक र लोकतान्त्रिक संघीय व्यवस्थालाई जोगाउन विशेष भूमिका निर्वाह गर्ने पार्टीहरुको गठबन्धन भएकाले पनि छुटै महत्व रहेको बताउनुभयो । कार्यक्रममा राजनीतिक विश्लेषक तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राम पोखरेलले लोकतान्त्रिक गठबन्धनका उम्मेद्धारहरु हार्नु भनेको सिंगो व्यवस्था हार्नु भएको बताउनुभयो । ‘उम्मेद्धार एउटा पात्र मात्र नभएर यो गठबन्धनको भाग्य र भविष्यसंग जोडिएको छ’ उहाँले भन्नुभयो–‘सबैले विश्वासका साथ ढुक्क भएर निर्वाचनमा होमिएर आफ्ना कार्यकर्ता शुभचिन्तकहरु कहाँ जान आग्रह गर्दछु ।’ एमालेको चुनावी नारा वृद्ध भत्ता बुढो भइसकेको बताउँदै भारी मतका साथ गठबन्धन दलले चुनाव जित्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा समाजवादीका नेता दलवहादुर तामाङले निर्वाचनमा हिजो पानी बाराबारको अवस्था व्यवस्था जोगाउन हिजो सदन सडकबाट आन्दोलन गर्दै आएका पार्टीहरु एक भएर निर्वाचनमा होमिएकोले बाम लोकतान्त्रिक शक्तिहरुलाई जिताउनुको विकल्प नरहेको बताउनुभयो । त्यस्तै नेकपा माओवादीका मोरङ जिल्ला सह–इन्चार्ज प्रेम मिभकले पार्टीको विचार र निति आफ्नो ठाउँमा भएपनि स्थानीय तहदेखि नै फरक मत र फरक विचार राख्ने नेताहरु समेत अहिलेको गठबन्धनप्रति सकारात्मक देखिनु सुखद भएको बताउनुभयो ।























