उर्लाबारी । मैथिली समुदायका नेपालीहरुको महान पर्व छठको अवसरमा शनिबारदेखि खोला किनार र ताल तलैयाहरु रंगीचंगी हुन थालेका छन् । पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म तराई भएर बग्ने नदीका किनारहरु रंगीचंगी बने । उर्लाबारीको मावा, तेली, राते होलीलगायतका खोला तथा नहरहरुमा पनि रौनक छाएको छ । दसैं तिहारजस्तै तराईवासीका लागि छठ पर्वले विशेष महत्व राखेको छ । दुई दिन देखि सुरु भएको छठअन्तर्गत भोली आइतबार साँझ अस्ताउँदै सूर्यलाई अर्घ दिने गरिन्छ । सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने चलन छ । छठ माता र सूर्यको पूजा गर्नाले सुख, शान्ति, समृद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धार्मिक मान्यता रहेको छ ।
छठमा गहुँको पिठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, उखु, केरालगायतका सामग्रीहरु प्रसादको रुपमा अर्पण गर्ने चलन छ ।
यसैक्रममा छठ पर्व भब्य रुपमा मनाउन मोरङको उर्लाबारीमा पवन चौधरीको संयोजकत्वमा मूल समिति बनेको छ भने मिक्लाजुङमा राजु साह, मंगलबारेमा प्रकाश चौधरी, दुर्गापुरीमा हेम गुरुङलाई उपसमिति संयोजक तोकिएको छ । उर्लाबारीका तीन स्थान र मिक्लाजुङमा भब्यताका साथ छठ पूजा कार्यक्रम गर्ने तयारी भइरहेको संयोजक पवन चौधरीले जानकारी दिनुभयो ।























